सडकमा एम्बुस

गत मंसिर २२ गते बाँके जिल्लाको कोहलपुरमा एकजना स्कूले बालिकालाई विद्यालय गइरहेको बेलामा ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त भयो।
त्यसको चार दिनअघि मात्र बाँके जिल्लाकै नेपालगञ्ज पुष्पलाल चोक नजिक साइकलमा सवार दुई जनाले ट्रककाे ठक्करबाट ज्यान गुमाए।
मोफसलको के कुरा भयो र ! मानिसहरु संघीय राजधानीमा जेब्राक्रसमा मृत्यु व्यहोर्न बाध्य भइरहेका छन्।
आखिर किन नेपालमा सडक सुरक्षामा अनियन्त्रित लापरवाही भइरहेको छ त? सडक दुर्घटनाले संघीय राजधानी लगायत देशका विभिन्न ठाउँहरुमा दिनदिनै किन ज्यान लिइरहेको छ? भन्ने यक्ष प्रश्न खडा भएको छ।
यस्ता दुर्घटनाहरु दोहोरिरहनुमा नेपालका यातायात व्यवसायीहरुबाट ‘दवाव‘ र ‘प्रभाव‘मा बनाइएको कानुनले घाइतेको सम्पूर्ण उपचार खर्च सम्बन्धित चालक, यातायात व्यवसायीले व्यहोर्नु पर्ने र मृत्यु भएको हकमा यातायात व्यवसायीहरुको सम्बन्धित संघले सानो रकम दिएमा उन्मुक्ति पाइने प्रावधान धेरै हदसम्म जिम्मेवार छ। यस्तो चलनले लापरवाह चालकहरुको मनोबल बढाएको पाइन्छ। त्यसैले त चालकहरुले जथाभावी सवारी साधन चलाउने अनि घिसारेर, ब्याक गरेर वा अन्य निर्दयी तवरले पीडितको ज्यान लिएको पाइन्छ।
नेपाली सडकहरु विश्वमै सबैभन्दा खतरनाक सडकका रुपमा चित्रित गरिएको पाइन्छ। गुरु प्रसाद अधिकारी (२०१६) का अनुसार जापान भन्दा १०० गुना र भारत भन्दा १० गुना ज्यादा सवारी ठोक्किने सम्भावना नेपाली सडकहरुमा रहेको छ। त्यस्तै उनको अध्ययनले पर्याप्त सुरक्षा व्यवस्थाको अभावमा काठमाडौँ—भक्तपुर सडकमा जुन २००९ देखि जुन २०१२ को अवधिमा सडक दुर्घटना बढेको देखिन्छ। तसर्थ सडकको परिमाण बढाउनुका साथै गुणस्तरमा पनि पर्याप्त ध्यान दिएमा सडक दुर्घटना न्यूनीकरण हुने देखिन्छ।
सडकमा पर्याप्त सुरक्षा प्रबन्धहरु खासगरी सडक पेटी, सडकबत्ती, मेडियन नहुनुले पनि सडकयात्रा असुरक्षित बनाएको देखिन्छ।
त्यस्तै सुरक्षित गति सीमा नाघी अत्यधिक गतिमा सवारीसाधन हाँक्नुले पनि सडक दुर्घटना बढाएको देखिन्छ। खासगरी मोटरसाइकल चालकहरुले तीव्र गतिमा मोटरसाइकल हुइँक्याउने गरेको, माइक्रो बस, हायसहरु तीव्र गतिमा चलाउँदा दुर्घटना हुने सम्भावना बढाएको देखिन्छ।
विश्वमा आधाभन्दा ज्यादा सडक दुर्घटनाबाट मृत्यु हुनेहरुमा पैदलयात्री, साइकलयात्री, मोटरसाइकल यात्रीहरु रहेका छन् जसलाई धेरै देशहरुमा सडक ट्राफिक प्रणालीभित्र समेट्न हेलचेक्र्याइ गरिएको पाइएको छ।
नेपाल जहाँ यातायात व्यवसायीहरुसँग सरकार घुँडा टेक्छ, नेता, प्रशासक आफ्नै कुर्सी, स्वार्थको लागि हरेक पल दत्तचित्त रहन्छन्, लाइसेन्स वितरण, सडक सुरक्षामा व्यापक लापरवाही छ, त्यहाँ सडक दुर्घटना नियमित जस्तो भइरहनु के अनौठो भयो र!
पर्याप्त मात्रामा सडक पेटी नहुनु, सडक पेटी सडक व्यापारी, निर्माण सामग्री, विभिन्न आन्दोलनकारी लगायतले कब्जामा लिनुले पनि सडक दुर्घटना बढाउन सघाएको पाइन्छ।
नेपाल जहाँ यातायात व्यवसायीहरुसँग सरकार घुँडा टेक्छ, नेता, प्रशासक आफ्नै कुर्सी, स्वार्थको लागि हरेक पल दत्तचित्त रहन्छन्, लाइसेन्स वितरण, सडक सुरक्षामा व्यापक लापरवाही छ, त्यहाँ सडक दुर्घटना नियमित जस्तो भइरहनु के अनौठो भयो र!
त्यस्तै, मादकपदार्थ सेवन गरी सवारी चलाउनु, लामो दूरीको सवारी साधनमा एउटै चालकले विना आराम लामो समयसम्म सवारी चलाउनु पनि सडक दुर्घटनाको कारक कारण मान्न सकिन्छ।
नेपालमा माओवादी सशस्त्र संघर्षभन्दा बढी मानिसहरुले सडक दुर्घटनाबाट मृत्यु भएको अत्यासलाग्दो तथ्यांक छ।
तर सडक दुर्घटना पूर्ण रुपमा राेक्न सकिने विश्व स्वास्थ्य संगठनद्वारा प्रकाशित ग्लोबल स्टाटस रिपोर्ट अन रोड सेफ्टी २०१८ मा उल्लेख गरिएको छ। सो प्रतिवेदनले विश्वमा प्रतिदिन ३ हजार ७ सय र वार्षिक १३ लाख ५० हजार व्यक्तिहरु सडक दुर्घटनाका कारण मृत्युको मुखमा पुग्न बाध्य भएको औँल्याएको छ।
त्यस्तै, सोही प्रतिवेदनले नै २०१८ मा सडक दुर्घटनाबाट खासगरी ५–२९ वर्ष उमेर समूहका बालक र युवाहरु मृत्युवरण गर्न बाध्य भैरहेको देखिन्छ।
सडक दुर्घटनाका कारण हुने मृत्यु एचआइभी/एड्स, क्षयरोग र झाडा पखाला सम्बन्धी रोगहरु भन्दा बढी भए तापनि सुरक्षित सडकको लागि राज्यहरु गम्भीर भएको पाइँदैन।
विश्व स्वास्थ्य संगठनको पछिल्लो २०१७ को तथ्याकं अनुसार सो वर्ष नेपालमा ४ हजार ९ सय २१ जना सडक दुर्घटनाका कारण मृत्युको मुखमा पुग्न बाध्य भए।
त्यस्तै नेपाल प्रहरीको तथ्यांक अनुसार सडक दुर्घटनाका कारण गत पाँच वर्षमा नेपालमा ११ हजार पाँच व्यक्तिहरु मृत्युको मुखमा पुग्न बाध्य भए भने १९ हजार ८ सय ७७ जना गम्भीर रुपमा घाइते भएका छन्। त्यस्तै ४८ हजार ९ सय ८१ दुर्घटनाहरु नेपालभर भएको अभिलेख छ। जुन प्रत्येक वर्ष बढिरहेको पाइन्छ।
सडक डिजाइनमा भएको कमजोरी र नियमित मर्मत नभएका कारण सडक दुर्घटना बढिरहेको प्रहरी अधिकारीहरुको भनाइ छ। आधुनिक प्रविधिको अभावमा पनि सडक दुर्घटना बढिरहेको अधिकारीहरुको भनाइ रहेको छ।
प्रहरी तथ्यांकका अनुसार ९५ प्रतिशत सडक दुर्घटना चालकहरुको लापरवाहीका कारण भएको पाइन्छ। छिमेकी भारतमा पनि २०१३ को तथ्यांक अनुसार चालकको लापरवाहीले नै ७८ प्रतिशत सडक दुर्घटना निम्तिएको पाइन्छ। ओभरलोड, तीव्र गति, सडकमा छाडा पशु छाड्ने चलन, लापरवाह पैदलयात्री, यान्त्रिक गडबडीले सडक दुर्घटना गराउन सहायता गरेको पाइन्छ।
असुरक्षित सडक भएमा मानिसहरुको सक्रियता पर्याप्त नहुँदा मुटुरोग, मधुमेह जस्ता रोगहरुले मानिसहरुलाई सताउने अनुसन्धानहरुले देखाएका छन् किनकि मानिसहरु असुरक्षित सडक भएमा सार्वजनिक यातायातका साधनहरुमा यात्रा नगर्ने, नहिँड्ने, साइकल नचलाउने गर्नाले हामीले धेरै रोगहरुलाई व्यहोर्नु पर्ने अवस्था आउँछ। मानिस मर्निङ वाक गएको अवस्थामा सवारी साधनको मुनि आउने अवस्थाले त्रास त सिर्जना गर्छ नै।
कर्णाली राजमार्ग जस्ता क्षेत्रमा नजिकै ट्रमा सेन्टर नहुनु साथै एम्बुलेन्सको सहज उपलब्धता नहुनु, गतिलो स्वास्थ्य सुविधा नहुनु अनि गुणस्तरहीन सडकका कारणले सडक दुर्घटना पश्चातकाे जटिलता बढाउनुको साथै मृत्युको संख्या बढेको पाइन्छ। अनि शहरमा ट्राफिक जामले घाइते व्यक्तिलाई स्वास्थ्य संस्था नपुर्याउँदै मृत्यु हुने गरेको पाइन्छ।
त्यस्तै, अन्य दशौँ लाख मानिसहरु सडक दुर्घटनाका कारण अपाङ्ग हुने गरेका छन्। जसका कारण परिवार, समुदाय, स्वास्थ्य सेवामा अत्यधिक पीडा र क्षति व्यहोर्नु परिरहेको छ।
सडक सुरक्षाको पक्ष प्रत्यक्ष अप्रत्यक्ष भ्रष्टाचारसँग पनि जोडिएको पाइन्छ। केही समयअघि जारी भ्रष्टाचार अनुभूति सूचकाङ्क २०१९ मा नेपाल विश्वका १८० देशहरुमा ३४ अंकका साथ ११३ औं स्थानमा सूचीकृत हुन पुगेको छ। नेपाल भ्रष्टाचारमा धेरै अगाडि छ, जसले सडक दुर्घटनालाई प्रत्यक्ष परोक्ष रुपमा बढाउन सघाउ पुर्याएको पाइन्छ।
छिमेकी भारतमै चर्चित टेलिभिजन कार्यक्रम सत्यमेव जयतेमा सडक दुर्घटना कि हत्या ? भन्ने कार्यक्रमबाट अभिनेता आमिर खानले सडक दुर्घटनाका विभिन्न पाटाहरुलाई उजागर गर्न कोशिस गरेका थिए, जुन नेपालमा पनि सान्दर्भिक हुन सक्ने देखिन्छ।
दिगो विकास लक्ष्यको उद्देश्य ३.६ मा उल्लिखित सन् २०२० सम्म विश्वमा हुने सडक दुर्घटनालाई आधा संख्यामा झार्ने उद्देश्य प्राप्त भएको देखिँदैन। विश्वका नेताहरुले प्रतिवद्धता जाहेर गरेका भए तापनि।
न्यून आय भएको नेपाल जस्तो मुलुकमा सन् २०१३ देखि नै सडक दुर्घटनामा कमी भएको देखिँदैन जबकि मध्यम र उच्च आय भएको मुलुकहरुमा यो संख्या उल्लेख्य रुपमा घटेको देखिन्छ।
सुरक्षित सडक, बलियो नीति तथा त्यसको अक्षरशः कार्यान्वयन, व्यापक जनचेतना अभियानले सडक दुर्घटना रोक्न सकिने अनुसन्धान र अन्य बलिया राज्यहरुको उदाहरणले देखाएको छ।
साथै सडक सुरक्षाबारे विद्यालय तहको पाठ्यक्रमदेखि समुदाय, सञ्चार माध्यमहरुले पनि सन्देश प्रवाह गर्ने गरेमा सडक दुर्घटना न्यूनीकरण गर्न सघाउ पुग्ने देखिन्छ।
हाल हुम्ला जिल्ला बाहेक सबै जिल्ला सदरमुकामहरु सडक सञ्जालसँग जोडिएको अवस्था छ। तथापि गुणस्तरीय सडक सबैको पहुँचमा पुर्याउनु नितान्त जरुरी देखिन्छ।
सडक दुर्घटना न्यून गराउन थुप्रै सिक्न सकिने कदमहरु विश्वभर भएका छन्। ती कदमहरुबाट प्रेरणा लिइ स्पष्ट र कार्यान्वयन योग्य रणनीति, एकीकृत प्रकृया र सरोकारवालाहरुमा दृढ इच्छाशक्ति भएमा नेपालमा पनि सडक दुर्घटनामा ठूलो मात्रामा कमी ल्याउन सकिन्छ।
त्यसको लागि पर्याप्त सडकपेटी, साइकल लेन, जिम्मेवार सडक प्रयोगकर्ताहरुको जरुरी देखिन्छ।
साथै, हवाइजहाज अझ जेट विमान दुर्घटना हुँदा ठूलै प्रतिक्रिया जनाउने सरकार, संचार माध्यम, नागरिक समाज लगायत सरोकारवालाहरुले सडक दुर्घटनाको क्षति पनि क्षति हो भन्ने सोचेर पर्याप्त सडक सुरक्षाका कदमहरु चाल्न जरुरी देखिन्छ।
त्यस्तै, वास्तविक अर्थमा संघीयता कार्यान्वयन गरी काठमाडौँ लगायत शहरहरुको थेग्ने क्षमताभन्दा ज्यादा पूर्वाधार, सुविधा केन्द्रित नगरी गाउँ गाउँसम्म आधारभूत सुविधा पुर्याएमा पनि सडक दुर्घटना न्यूनीकरणमा ठूलो योगदान पुग्ने देखिन्छ।