अस्ट्रेलियाः कारमा आगलागी, तीन बालबालिकासहित चारजनाको मृत्यु

अस्ट्रेलियाको क्याम्प हिलमा कारमा आगलागी हुँदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये तीनजना १० वर्षमुनिका बालबालिका रहेको क्वीन्सल्याण्ड प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अर्का एकजना वयश्क पुरुष रहेका छन् ।

कारमा रहेकी महिलाको शरीरको अधिकांश भाग जलेको छ। कारमा रहेका पाँचैजनाले एकअर्कासँग परिचित व्यक्ति रहेको प्रहरीले उल्लेख गरेको छ । कारमा कसरी आगलागी भयो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको क्याम्प हिल प्रहरीले जनाएको छ ।

प्रहरी पुग्दा कारमा भीषण आगो लागेको थियो । स्थानीय समय अनुसार बुधबार बिहान साढे ८ बजे आगलागी बारे प्रहरीले पहिलो फोन प्राप्त गरेको थियो।

प्रत्यक्षदर्शीले द अस्ट्रेलियन न्युजपेपरसँग भनेका छन्, ‘जलिरहेको कारबाट बाहिरिएकी महिलाले उसले ममाथि पेट्रोल खन्यायो भन्दै चिच्याएकी थिइन्।’

प्रहरीले घटनामा मृत्यु हुने वा घाइते भएकाको पहिचान खुलाएको छैन।

फाल्गुन ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्