समुद्रमै क्वारेन्टाइनमा राखिएका क्रुज यात्रुहरु बल्ल बाहिरिए

जापानको योकोहामा तटीय क्षेत्रमा क्वारेन्टाइनमा राखिएको क्रुज सिप डायमण्ड प्रिन्सेजबाट यात्रुलाई बाहिर निकाल्न थालिएको छ । १४ दिनको क्वारेन्टाइनपछि पानी जहाजबाट यात्रु निकाल्न थालिएको हो ।

चीनमा महामारीका रुपमा फैलिएको कोभिड–१९ नाम दिइएको नोवेल कोरोना भाइरसको संक्रमण सो पानी जहाजका यात्रुमा पनि देखिएपछि क्वारेन्टाइनमा राखिएको थियो ।

डायमण्ड प्रिन्सेज क्रुज सिपमा रहेका कम्तिमा ५४२ जना यात्रु तथा चालकदलका सदस्यमा कोभिड–१९ को संक्रमण भएको छ । चीन बाहिर एक ठाउँमा धेरैलाई संक्रमण भएको यो पहिलो घटना हो । यात्रुले कठीन रुपमा १४ दिने क्वारेन्टाइन अवधि पूरा गरेका हुन् ।

केही देशले पानी जहाजमा रहेका आफ्ना नागरिकलाई उद्दार गरेर लगेका थिए । बाँकी रहेका यात्रुहरु भने क्वारेन्टाइन पूरा गरी बुधबारदेखि निस्कन थालेका हुन् ।

कोभिड–१९ का कारण चीनमा अहिलेसम्म दुई हजार चारजनाको मृत्यु भएको पुष्टि भएको छ । यस्तै चीनमा ७४ हजार १८५ जनामा संक्रमण भएको छ भने चीन बाहिर ७०० जनामा संक्रमण देखिएको छ ।

डायमण्ड क्रुज सिपमा ५० भन्दा बढी देशका ३७ सय जना छन् । त्यसमध्ये अमेरिकासहितका देशले आफ्ना नागरिकलाई उद्धार गरेका छन् ।

फाल्गुन ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्