कान्तिपुरका प्रधान सम्पादकले गरे चिनियाँ प्रतिक्रियाको भर्त्सना

सुधीर शर्मा

काठमाडौँ – नेपालस्थित चिनियाँ दूतावासले काठमान्डु पोष्टमा प्रकाशित लेखप्रति आपत्ति जनाएको विषयलाई लिएर कान्तिपुर प्रकाशनले दूतावासको कदमको भर्त्सना गरेको छ । कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माले ट्विट गर्दै दूतावासको कदमको भर्त्सना गरेका हुन् ।

उनले चिनियाँ दूतावासको प्रतिक्रिया आपत्तिजनक रहेको उल्लेख गर्दै धम्कीपूर्ण अभिव्यक्ति दिएर प्रेस स्वतन्त्रतामाथि प्रहार गर्न नपाउने बताएका छन् ।

‘प्रकाशित सामग्रीप्रति उसले असहमति जनाउन सक्छ तर धम्कीपूर्ण अभिव्यक्ति दिँदै प्रेसमाथि प्रहार गर्न पाउँदैन, हामी यसको भर्त्सना गर्दछौँ’, उनले ट्विटमा लेखेका छन् ।

नेपालस्थित चिनियाँ दूतावासले ‘काठमान्डु पोस्ट’ मा प्रकाशित एक लेखप्रति कडा आपत्ति प्रकट गरेको थियो । कोरोना भाइरससँग लडिरहेको चिनियाँ सरकारविरुद्ध र त्यहाँको राजनीतिक प्रणालीबिरुद्ध प्रहार गरेको भन्दै आपत्ति प्रकट गरेको थियो ।

चिनियाँ दूतावासले विज्ञप्ति जारी गर्दै काठमान्डु पोस्टका प्रधान सम्पादक अनुप काफ्लेको नामसमेत उल्लेख गर्दै चीनविरुद्ध उक्त दैनिक नियतवश नै लागिरहेको आरोप लगाएको थियो ।

चीनले कोरोना भाइरसबिरुद्ध सशक्त ढंगले लडाइँ जारी राखेको र नेपाली सरकार तथा नेपाली मिडियाले यो अप्ठ्यारोमा चीनको पूर्ण साथ र सहयोग गरेको पनि चिनियाँ दूतावासको विज्ञप्तिमा उल्लेख थियो ।

कोरोना भाइरससँग जुध्न दिइएका सुझावहरु स्वीकार गर्ने तर चिनियाँ राजनीतिक पद्धतिबिरुद्धका आक्रमण चीनलाई सह्य नहुने पनि विज्ञप्तिमा उल्लेख छ।

प्रधानसम्पादक काफ्ले चीनसँग सम्बद्ध विषयमा जहिल्यै पूर्वाग्रही रहेको उल्लेख गर्दै चिनियाँ दूतावासले यसपटक एक कदम अघि बढेर चीनविरोधी शक्तिको सुगा बनेको आरोप लगाएको थियो ।

फाल्गुन ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्