खरिपाटी क्वारेन्टाइन सेन्टरमा रहेका कसैलाई पनि कोभिड–१९ को संक्रमण छैनः स्वास्थ्य मन्त्रालय

काठमाडौँ – भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइन सेन्टरमा रहेका १७५ जनामै कोभिड–१९ नाम दिइएको नोवेल कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

गएको आइतबार बिहान चीनको हुबेइ प्रान्तका विभिन्न शहरबाट उद्धार गरी ल्याइएका नेपालीहरुको नाक र घाँटी भित्रको नमूना परीक्षण गर्दा कोभिड–१९ संक्रमण नरहेको पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले फागुन ४, ५ र ६ गते सघन रुपमा गरेको परीक्षणमा सबै नमूनामा कोभिड–१९ नेगेटिभ देखिएको हो । कोभिड–१९ का लागि रियल टाइम आरटी–पिसिआरबाट परीक्षण गर्दा कसैमा पनि संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

मन्त्रालयले चीनबाट नेपाली ल्याउन सहयोग गर्ने सबै पक्षलाई धन्यबाद समेत भनेको छ । चीनको हुबेइ प्रान्तको वुहान शहरमा गएको डिसेम्बरमा पहिलोपटक देखिएको कोभिड–१९ को संक्रमणले हाल महामारीको रुप लिएको छ । यसका कारण चीनमा दुई हजार भन्दा बढी मानिको मृत्यु भएको छ ।

फाल्गुन ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्