नयाँ घरमा बस्न पाउँदा विपन्नका अनुहारमा खुसी

झापा– झापा गाउँपालिका–१ निवासी विरेन्द्र बेस्रा बुधबार निकै खुसी देखिन्थे। वर्षौंदेखि फुसको छानो र बाँसको टाटीमा माटोले लिपेर बस्नहुने मात्रको घरमा बस्दै आएका उनकाे नयाँ घर पाएपछि खुसीको सीमा छैन।

उनले भने, ‘बाढीको समयमा एउटादेखि अर्को घर जान पनि नपाउने अवस्थामा आजदेखि नयाँ घरमा बस्न पाइयो। ज्यादै खुसी छु।’

उनी आदिवासी सन्थाल समुदायका एक सदस्य हुन्। उनकी श्रीमती टिङ्कुमारी मरान्डेले उनी विवाह भएर आएदेखिको दुःख बुधबारदेखि समाप्त भएको बताइन्। हाँस्दै प्रतिक्रिया दिन आएकी उनले भनिन्, ‘बाल बच्चालाई समस्या थियो। वर्षाको बेला बाच्न नै गाह्रो थियो। अब त मज्जाले निदाउन पाइन्छ।’

 

मिश्रित समुदायको बसोबास रहेको झापाका गाउँपालिकाका विपन्न समुदायका ४० परिवारले बुधबारदेखि नयाँ घरमा बस्न पाएका छन्।

नयाँ घरमा उनीहरुको श्रमबाहेक केही लागत लागेको छैन। झापा गाउँपालिका कार्यालय, ह्याविट्याट फर ह्युमेनिटी नेपाल, सहारा नेपाल तथा सहारा नेपाल साकोसको आर्थिक तथा प्राविधिक लगानीमा ती घर निर्माण भएका हुन्।

झापा जिल्लाभरि त्यस्ता विपन्न परिवारका लागि ३ सय ४८ घर बनेर परिवारलाई जिम्मा लगाइसकिएको छ। त्यसमा ७० वटा घर झापा गाउँपालिकामा बनिसकेका छन्।

प्रत्येक घरको लागत एक लाख ५० हजार रुपैयाँ रहेको घर निर्माण आयोजककी कार्यक्रम संयोजक लीला सिवाकोटीले बताइन्। आउने वर्ष झापा जिल्लाभरि ५ सय वटा त्यस्ता घर बनाएर विपन्नलाई दिइने उनले बताइन्।

आर्थिक स्थिति कमजोर भएका सर्वसाधारण नागरिकका लागि दुई तहका सरकार मिलेर घर बनाइदिन थालेपछि त्यस्ता समुदायका नागरिकहरुले नयाँ घर पाउन थालेका हुन्।

विर्तामोड नगरपालिका वडा नं ७ गरामनी बजार पूर्वको सन्थाल बस्तीका चार सन्थाल परिवारले पनि नयाँ घर पाएका छन्।

साँघुरो, होचो, फुसको छानो अनि बाँसको बेरा भएको घरबाट अहिले उनीहरु चिटिक्क टिनको छानो भएको तर सिमेन्टको खम्बा ठड्याएको तीन कोठाको घरमा बस्न पाएका छन्।

स्थानीयबासी मंगली मुर्मुले पहिलाको घर हुँदा दर्दनाक अवस्था रहेको सुनाइन्। उनले भनिन्, ‘बाँसको खम्बा भएको घर थियो। हावापानी आउँदा घर लडेर नानीहरु किच्ला भन्ने पीर थियो। अब त त्यो भएन।’

अर्की स्थानीयबासी धनी मुर्मुले पहिला अति जोखिम मोलेर घरमा बस्ने अवस्था रहेको सुनाइन्।

त्यस्ता घर पाउनेहरुमा आदिवासी, दलित तथा पिछडिएका समुदायका परिवारहरु रहेका छन्।

स्थानीय तहहरुका अनुसार आवश्यक्ता तथा योजना अनुसार घर बनाउन अरु रकम जुटाउन गैर सरकारी संस्थासंग सहकार्य गर्दै आएका छन्।

त्यस्का लागि झापा गाउँपालिका, कन्काइ नगरपालिका, विर्तामोड नगरपालिका, बाह्रदशी गाउँपालिका, गौरीगञ्ज गाउँपालिका, अर्जुनधारा नगरपालिका तथा हल्दिबारी गाउँपालिकाले ह्याविट्याट फर ह्युमेनिटी नेपाल तथा सहारा नेपाल साकोसलाई रोजेका छन्।

फाल्गुन ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्