चिनियाँ दूतावासकाे विज्ञप्ति निन्दनीय: महास‌ंघ

काठमाडौँ– नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपको अंग्रेजी पत्रिका ‘द काठमाडौँ पोस्ट’मा प्रकाशित एक लेखको विषयलाई लिएर काठमाडौँस्थित चिनियाँ राजदूतावासले जारी गरेको विज्ञप्ति निन्दनीय भएकाे बताएकाे छ।

महासंघले बुधबार विज्ञप्ति जारी गर्दै ‘द काठमाडौँ पोस्ट’मा प्रकाशित लेखको विषयलाई लिएर चिनियाँ राजदूतवासद्वारा जारी विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे।

‘प्रकाशित समाचारप्रति गुनासो गर्ने वा उजुरी दिने निकाय प्रेस काउन्सिल नेपाल हो’, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कूटनीतिक निकायबाट विज्ञप्तिमार्फत पत्रकारलाई धम्की दिने र लाञ्छना लगाउने काम हुनु आफैमा निन्दनीय छ।’

महासंघले पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग समेत गरेको छ।

यसअघि विभन्न संचारमाध्यमका सम्पादकहरुले समेत संयुक्त विज्ञप्ती जारी गर्दै चिनियाँ राजदूतावासले जारी गरेको विज्ञप्तिको भर्त्सना गरेका गरेका थिए।

नेपालस्थित चिनियाँ दूतावासले ‘काठमान्डु पोस्ट’मा प्रकाशित एक लेखप्रति कडा आपत्ति प्रकट गरेको थियो।

चिनियाँ दूतावासले विज्ञप्ति जारी गर्दै ‘द काठमाण्डु पोष्ट’का प्रधानसम्पादक अनुप काफ्लेको नामसमेत उल्लेख गर्दै चीनविरुद्ध उक्त दैनिक नियतवश नै लागिरहेको आरोप लगाएको थियो।

कोरोना भाइरससँग जुध्न दिइएका सुझावहरु स्वीकार गर्ने तर चिनियाँ राजनीतिक पद्धतिविरुद्धका आक्रमण चीनलाई सह्य नहुने पनि विज्ञप्तिमा उल्लेख गरिएको थियो।

प्रधानसम्पादक काफ्ले चीनसँग सम्वद्ध विषयमा जहिल्यै पूर्वाग्रही रहेको उल्लेख गर्दै चिनियाँ दूतावासले यसपटक एक कदमअघि बढेर चीनविरोधी शक्तिको सुगा बनेको आरोप लगाएको थियो।

फाल्गुन ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्