नेपाली सेनासँग रहेको बम कसरी पुग्यो पूर्वसैनिकको हातमा ?

काठमाडौँ– सोमबार ललितपुरको गोदावरी नगरपालिका–५ स्थित एक सर्वसाधारणको घरको छतमा भेटिएको ग्रिनेड बम ‘फ्याक्ट्री मेड’ भएको पाइएको छ।

उक्त बम नेपाली सेनाको भएको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि यसले सेनाभित्र ठुलै खैलाबैला मच्चिएको छ। प्रहरीले अवकाशप्राप्त सेनाका पूर्व हवल्दार राजकुमार कार्कीलाई सोमबार राति पक्राउ गरेको थियो।

‘बम नेपाली सेनाकै हो भन्ने निष्कर्षमा हामी पुगेका छौँ तर कसरी पूर्वसैनिकको हातमा पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको छ’, अनुसन्धानमा खटिएका एक प्रहरीले भने।

गोदावरी–५ लेले घर भएका कार्कीले छिमेकी सुकराम मिजारको घरमा ग्रिनेड बम राखेको प्रहरीको दावी छ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले घटनाबारे आफूले सुने पनि अहिले केही भन्न नसक्ने बताए। ‘हामी अहिले शिवरात्रीको तयारीमा छौँ। सम्बन्धित निकायबाट बुझ्ने काम भइरहेको होला’,पाण्डेले भने।

कार्की अहिले चापागाउँ प्रहरी वृतको हिरासतमा छन्। चापागाउँ वृत प्रमुख कृष्ण ओझाले पक्राउ परेका कार्की नेपाली सेनाका पूर्व हवल्दार भएको पुष्टि गर्दै अनुसन्धान भइरहेको जानकारी दिए।

प्रहरी नायब उपरिक्षक (डीएसपी) ओझाले भने, ‘उनले अझै ढाँटिरहेका छन्। स्पष्ट कुरा आइसकेको छैन। कहिले बाटामा हिँड्दा भेटेको भन्छन्,कहिले अरु नै कुरा बताउँछन्। जाँड खाएका बेला आफूले बम कहाँ राखेँ भनेर थाहा नपाएको बताउँछन्। बम चाहीँ फ्याक्ट्री मेड नै हो।’

२०७३ सालमा सेवाबाट अवकाश पाएका कार्की जगदल गणमा थिए। सेनाका विस्फोटक सामग्री यसरी सर्वसाधारणको हातमा पुग्दा सुरक्षा व्यवस्थापनमा गम्भीर चुनौती थपिने सुरक्षा अधिकारीहरु बताउँछन्।

‘सेनासँग रहने यस्ता सामग्रीहरु सर्वसाधारणको पहुँचमा पुग्नु गम्भिर कुरा हो। नेपाली सेनाले यसमा गम्भिर भएर छानबिन गर्नुपर्छ’, एक सुरक्षा जानकार भन्छन्।

फाल्गुन ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्