एचआइभी संक्रमित राजीव काफ्लेको गाँजा वृत्तान्त

म नियमित गाँजा खान्छु, गाँजाले ‘इगो’लाई ‘जिरो’ बनाउँछ

राजीव काफ्ले।

विभिन्न वैज्ञानिक अनुसन्धानले हानिकारक १५ लागू औषधको सूचीमा मदिरालाई पहिलो नम्बरमा राखेको छ। गाँजा १२ औँ नम्बरमा छ। मदिराबाहेक चुरोट पनि शीर्ष पाँच बढी हानिकारक ‘ड्रग्स’ मा पर्छन्। तर ५० वर्षसम्म ‘ब्रेन वास’ भएपछि हामीलाई अझै पनि  गाँजा, चुरोट र मदिराभन्दा बढी हानिकारक लाग्छ। गाँजामाथि दशकौँ यताको प्रतिबन्धले हाम्रो दिमागको ‘सेड्युल’मै त्यसरी बसेको छ।

हामीले गाँजाका बहुआयामिक फाइदा बुझ्न जरुरी छ। कपडा बनाउनदेखि  महँगो तेल निकाल्नसम्म गाँजा प्रयोग हुन सक्छ। बाजुराका किसानले सय रुपैयाँ केजी गाँजाको दाना बेचिरहेका छन्। युरोपमा पाँच हजार युरो प्रतिकेजी बिक्री हुन्छ। त्यहाँ यो प्रतिबन्धित छैन। तर यहाँ कानुन यसरी लादिएको छ कि गरिबलाई डण्डा लगाइएको छ,  अचार खानसमेत दिइँदैन।

गाँजा सेवनले हाम्रो ‘इगो’लाई जिरो बनाउँछ। मलाई एकपटक कलाकार हरिवंश आचार्यले जोक सुनाउनु भएको थियो- रक्सी खाकोले पाटनमा पुगेर पाटनढोका पार गर्न लाग्दा ‘यो त म हाम फालेर पनि पार गर्न सकिहाल्छु नि भनेर सोच्छ रे तर गाँजा खाएकोले  कतै ठोकिन्छु कि भन्दै निहुरिएर हिँड्छ रे।’  हाम्रोमा भएका धेरै अपराध रक्सी सेवनसँग जोडिएका हुन्छन्। तर, त्यही रक्सीको सेवन तथा विक्री वितरण खुलमखुल्ला छ, अपराध बढाइरहेको छ। स्वास्थ्यमा पनि गम्भीर असरहरु पुर्‍याइरहेको छ।

नेपालको कुल क्षेत्रफलमध्ये ६५ हजार वर्ग किलोमिटर क्षेत्र गाँजा उत्पादनका लागि निकै उर्वर मानिन्छ। यहाँ अनुकूल तापक्रम र समयमा पानी पर्ने भएकाले गाँजा उत्पादनलाई सजिलो हुन्छ र उच्च गुणस्तरको अर्ग्यानिक गाँजा उत्पादन हुन्छ। गाँजाका लागि पानी र घामबाहेक अरु केही चाहिँदा पनि चाहिँदैन। हिप्पीहरुले नेपालको गाँजालाई त्यत्तिकै संसारभर चिनाएका होइनन्। यहाँ उत्पादन हुने गाँजाको प्रजाति विश्वमै निकै राम्रो मानिन्छ। नेपालको यो विशिष्ट क्षमता र सम्भावनालाई हामीले चिन्न सक्नुपर्छ।  यो एउटा ठूलो अवसर हो र यसलाई सदुपयोग गर्न सक्नुपर्छ। तर यसका लागि कोही तयार देखिँदैनन्। बहस गरेर अगाडि बढ्न नै  हिच्किचाउँछन्।

गाँजाले लत बसाउँदैन। यो अरु लागू पदार्थ जस्तो हैन। गाँजामा त्यो लत बस्ने स्वभाव नै छैन।  गाँजाले त मान्छेलाई सामान्य स्थितिमा राख्छ। निकै आक्रामक भएको व्यक्तिले गाँजा खायो भने ऊ ‘कुल डाउन’ हुन्छ।

गाँजा खुला गर्दा मान्छे बिग्रन्छन् भन्छन्। म एउटा उदाहरण दिन्छु, सबैले एकपटक गाँजा खाएको होला तर हामी सोचौँ त के ती सबै गाँजाको लतमा परेका छन् त? शिवरात्रिको दिन खानेले भोलिपल्टदेखि खोज्दै हिँड्छ त? यसपटकको शिवरात्रिमा खाएर एकैपटक अर्को शिवरात्रिमा खाने धेरै हुन्छन्।  मेरो मतलब गाँजाले लत बसाउँदैन। यो अरु लागू पदार्थ जस्तो हैन। गाँजामा त्यो लत बस्ने स्वभाव नै छैन।  गाँजाले त मान्छेलाई सामान्य स्थितिमा राख्छ। निकै आक्रामक भएको व्यक्तिले गाँजा खायो भने ऊ ‘कुल डाउन’ हुन्छ। समृद्धि हाम्रै पालामा भन्ने नारालाई गाँजाको प्रतिबन्ध फुकुवाले सहयोग गर्ने छ। सबैलाई सार्थक बनाउने मुद्धा हो यो। अब बुझिदिनु पर्‍यो, सबैले।

लागूऔषध सम्बन्धी भएका अन्तर्राष्ट्रिय सन्धिसम्झौताले हामीलाई गाँजा प्रतिबन्ध फुकुवा गर्न गाह्रो छ भन्ने सुनिन्छ। हालसम्म नेपालले लागू औषधसम्बन्धी तीनवटा अन्तर्राष्ट्रिय सन्धिहरुमा हस्ताक्षर गरेको छ। अन्तिमपटक सन् १९८७ मा लागू औषध र रसायनिक लागू औषधको ओसारप्रसारसम्बन्धी भएको सन्धिमा हस्ताक्षर गर्ने नेपाल अन्तिम देश हो। त्यतिबेला नेपालले ‘रिजर्भेसनसहित’ हस्ताक्षर गरेको छ। त्यहाँ नेपालले गाँजाको हकमा यो सन्धि मान्य नहुने रिजर्भेसन राखेको थियो। हाम्रो रिजर्भेसनलाई डेढ वर्षभित्र अरु देशले ‘अब्जेक्ट’ गरेको भए हामीले गाँजाको हकमा पनि उक्त सन्धि मान्नु पर्ने थियो तर कुनैपनि देशले त्यसको विरोध गरेनन्। त्यसैले नेपालमा देशभित्रकै कानुनले मात्र गाँजा प्रतिबन्धित भएको हो। हामीले यो ऐन संसोधन गर्‍यौँ वा गाँजा फुकुवा गर्नेसहितको अर्को कानुन ल्यायौँ भने कुनैपनि अन्तर्राष्ट्रिय सन्धि सम्झौताले छेक्दैन।

हामी कुनै वैज्ञानिक कारण र आधार बिनै गाँजा प्रतिबन्ध हुनुपर्छ भनिरहेका छौँ।  सायद हाम्रो मानसिकता नै त्यसरी बनिसकेको छ, ५० वर्षदेखिको प्रतिबन्धले हाम्रो ब्रेन वास गरेको छ। हामीले यसमा छिरेर बहस गर्नै सकिरहेका छैनौँ। तर विश्वस्तरमा विभिन्न देशले गाँजामाथिको प्रतिबन्ध फुकुवा गरिसकेका छन्। अमेरिकाको कोलोराडो गाँजा फुकुवा गर्ने पहिलो राज्यमध्ये एक हो। क्यानडामा व्यावसायिक उत्पादन हुन थालेको छ। त्यहाँ ग्रिन हाउसमा गाँजा उत्पादन हुन्छ जुन लगानीका हिसाबले महँगो पर्न आउँछ।

देशसञ्चारमा अन्तर्क्रिया गर्दै राजीव काफ्ले।

हाम्रो त ६५ हजार वर्ग किलोमिटर क्षेत्र नै ग्रिन हाउस हो। गाँजामाथिको प्रतिबन्ध फुकुवा गरेर भोलिका दिनमा क्यानडासँग ब्यापार गर्न थाल्यौँ भने हामी ‘मालामाल’ हुन्छौँ। म केही वर्षअघि थाइल्यान्ड गएको बेला त्यहाँ गाँजामाथि प्रतिबन्ध फुकुवा भएको केही समय मात्र भएको थियो। त्यहाँका मानिसहरुलाई गाँजामाथि थाइल्याण्डले गरेको फुकुवापछिको अवस्थाबारे बताउँदा उनीहरुले पत्याउन सकिरहेका थिएनन्। किनभने उनीहरुलाई लामो प्रतिबन्धको ह्याङ थियो। दुई सर्को आउने गाँजा बोक्दा ६ महिनासम्म जेल बस्नु परेको ह्याङबाट उनीहरु बाहिर आउन सकिरहेका थिएनन्। अहिले हाम्रो देशको अवस्था पनि यस्तै हो। हामीलाई प्रतिबन्धको ह्याङ छ। यसमा घुसेर यसका फाइदा र सम्भावनालाई बुझ्न हिच्किचाउँछौँ।

केही दिनअघि मात्र नेपालका लागि अमेरिकी राजदूतसँग मेरो कुराकानी भएको थियो। उहाँ  गाँजा फुकुवा भएको अमेरिकी राज्य  कोलोराडोबाट हुनुहुन्छ। मैले ‘यमरी पुर्णेमा त यमरी खान आउनु भएको थियो, शिवरात्रिमा अब पशुपतिमा गाँजा खान आउनु हुन्छ होला नि’ भनेर जिस्काएको थिएँ। लागु औषध नियन्त्रणसम्बन्धी नेपालले सन् १९७५ मा ल्याएको कानुन नै अचम्मको छ। त्यहाँ साधु सन्तले गाँजा खान पाउने व्यवस्था छ। त्यसैगरि बिरामीको हकमा पनि कसैको सिफारिस लिएर तोकिएको ठाउँबाट गएर सेवन गर्न सकिने उल्लेख छ। म गाँजा नियमित सेवन गर्छु। न आजसम्म त्यो सिफारिस गर्ने व्यक्ति भेटेको छु न त सिफारिस लिएर खान सकिने ठाउँ नै।

(राजीव काफ्लेले देशसञ्चार LIVE मा व्यक्त गरेको विचारको अंश)

भिडियो यहाँ हेर्नुहोस्-

फाल्गुन ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्