सरकारी स्वामित्वका सञ्चारमाध्यम प्रदेश सरकार मातहत ल्याउनु पर्छः मन्त्री कार्की

तस्बिर: मनोज दाहाल/रासस

मोरङ– प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेशभित्र सरकारी स्वामित्वमा रहेका सञ्चार माध्यमहरु प्रदेश सरकार मातहत ल्याउनु पर्ने बताएका छन्।

राष्ट्रिय समाचार समितिको ५९ औं वार्षिकोत्सवका अवसरमा बुधबार विराटनगरमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले प्रदेशमा स्थापित सरकारी सञ्चार माध्यम प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका हुन्।

संघीयता अभ्यासका क्रममा सरकार मातहतका सञ्चार माध्यम प्रदेश सरकारलाई हस्तान्तरण गर्दा खर्च कम हुने मन्त्री कार्कीको भनाइ छ।

मन्त्री कार्कीले भने, ‘प्रदेश सरकारले आफ्नै सञ्चार माध्यम स्थापना गर्नुभन्दा पनि संघीय सरकारले स्थापना गरेका सञ्चारमाध्यम हस्तान्तरण गरे खर्चमा मितव्ययीता हुनेछ।’

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले मुलुकको सही तस्बिर जनतासामु प्रस्तुत गर्न सरकारी सञ्चार माध्यम सशक्त हुनुपर्नेमा जोड दिए।

त्यसैगरि नेपाल पत्रकार महासंघ प्रदेश एकका अध्यक्ष विक्रम लुइटेलले श्रमजीवी पत्रकारको समस्या समाधान गर्न सरकारी सञ्चार माध्यमका पत्रकारहरुको पारिश्रमिक वृद्धिसँगै करार वा लोकसेवाको माध्यमवाट पत्रकार नियुक्ति गर्नु पर्ने सुझाव दिए।

फाल्गुन ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू