नेपालगञ्जमा फागुन २३ देखि ‘सडक खाना महोत्सव’

नेपालगञ्ज– होटल व्यवसायी संघ, बाँकेले नेपालगञ्जमा धर्म, सम्प्रदायमा पुस्तौंदेखि चल्दै आएको मौलिक खानाहरुको स्टल राखेर बजारीकरण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सडक खाना महोत्सव आयोजना गर्ने भएको छ। फागुन २३ गतेदेखि २५ गतेसम्म महोत्सव आयोजना हुनेछ।

संघका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक भीमलाल कँडेलका अनुसार सुर्खेत रोड (धम्वोझीदेखि कृषि विकास बैंकको पूर्वपट्टीको सडकको एक भाग)मा टेन्टको व्यवस्था गरेर महोत्सव आयोजना गरिँदैछ। महोत्सवमा तारे होटलदेखि मौलिक परिकारसहितका ५० भन्दा बढी स्टल समावेश हुन्छन्।

सर्वसुलभ मूल्यमा एउटै ठाउँमा थरीथरीका परिकारको स्वाद लिन पाइने यस फुड फेस्टिभलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। कँडेलले सरसफाइ, सुरक्षा र ट्राफिक व्यवस्थापनको लागि विशेष ध्यान पुर्‍याउने गरी सरोकारवाला निकायबाट अनुमति प्राप्त भइसकेको जानकारी दिए। फुड फेस्टिभलम ५० हजारभन्दा बढी मानिसहरुको सहभागिता आयाेजकका विश्वास छ।

छिमेकी देश भारतबाट समेत पर्यटक सहभागी हुने फुड फेस्टिभलमा २ करोडभन्दा बढीको कारोबार हुने लक्ष्य राखिएको छ। जसमा विभिन्न परिकारका साथै कलाकारहको विशेष प्रस्तुति रहने, विभिन्न समुदायमा प्रचलित उत्कृष्ट खानाको परिकारको स्वदेशी तथा विदेशी पाहुनाहरु माझ परिचय गराउने र व्यवसायीकरण गरेर आर्थिक सशक्तिकरण र पहिचान संरक्षण गर्ने अयोजकले जनाएको छ।

खाना मात्र नभइ भ्रमण वर्ष २०२० लाई मूल रुपमा अंङ्गिकार गरी यसलाई सफल पार्ने र स्वरोजगारीको विकास गरी देशको आर्थिक विकासमा योगदान गर्ने अर्को लक्ष्य रहेको कँडेलले बताए।

होटल व्यवसायी दिवाकर खनालका अनुसार फुड फेस्टिभलले मौलिक उत्पादनको बजारीकरण भइ स्वरोजगारिताको सिर्जना गरी आर्थिक सशक्तिकरण गर्न सहयोग पुर्‍याउने छ।

उनका अनुसार फुड फेस्टिभलबाट भएको आम्दानी तथा नाफाको केही प्रतिशतबाट बाँके जिल्लामा रहेका पर्यटनस्थलको पवर्द्धन तथा प्रचार प्रसारमा लगाइने छ।

पत्रकार सम्मेलनमा उपस्थित नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले नेपालगञ्जको परिकार चिनाउन र अन्य क्षेत्रको परिकारको प्रवर्द्धन गर्न महोत्सव सहयोगी सावित हुने बताए ।

फाल्गुन ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्