विराटनगरमा शुक्रबारदेखि दुई दिने स्त्री रोग विशेषज्ञ सम्मेलन हुने

माेरङ– विराटनगरमा स्वदेशीसहित विश्वका १ सय ५० जना वरिष्ठ स्त्री रोग विशेषज्ञको दुई दिने सम्मेलन हुने भएको छ।

बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनका क्रममा वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमानसिंह कार्कीले नेपालमै पहिलो पटक युरोगाइनोक्लोजीमा चिकित्सकहरुको भेलो हुने जानकारी दिए। विराट मेडिकल कलेजका अध्यक्षसमेत रहेका कार्कीले साउथ एशियन फेडरेशन अफ यूरोगाइनोक्लोजी सम्मेलन शुक्रबार र शनिबार हुने बताए।

चिकित्सक कार्कीका अनुसार सम्मेलनको उद्घाटन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले गर्नेछन्। सम्मेलनमा विशेष गरेर महिलाहरुको तल्लो पेट, प्रजनन तथा पिसावसँग सम्बन्धित अंगहरु र अविकसित अंगहरुको पुर्नसंरचनाको क्षेत्रमा काम गर्ने विशेषज्ञ चिकित्सक एकै ठाउँमा भेला हुने कार्कीले जानकारी दिए।

यस क्षेत्रमा काम गर्ने चिकित्सकले प्रमाणका आधारमा वैज्ञानिक खोजमूलक अनुसन्धान तथा उपलब्धीका विषयमा प्रकाशन र आफ्नो अनुभव आदानप्रदान गर्ने तथा महिलामा लाग्ने रोगका विषयमा जनचेतना फलाउने सम्मेलनको मुख्य उदेश्य रहेको उनको भनाई छ। फागुन १० गते शनिबार विशेषज्ञ चिकित्सकबाट प्रतिवद्धतासहितको स्वेतपत्र जारी हुने कार्कीले बताए।

पत्रकार सम्मेलनका क्रममा कार्कीले सो सम्मेलनमा २० जना महिलाको जटिल प्रकारका शल्यक्रिया निःशुल्क गर्ने योजना रहेको बताए। उनका अनुसार पिसाब चुहिने, पिसाब बन्द हुने लगायतका महिलासँग सम्बन्धित समस्या जटिल खाले शल्यक्रियामा पर्दछन्।

सम्मेलनमा फेडरेशनका अन्तर्राष्ट्रिय अध्यक्ष डा. विनित मिश्रसहित पाकिस्तान, बंगलादेश, अमेरिका, बेलायत, भारत, अस्ट्रेलिया, सिंगापुर लगायतका मुलुकका चिकित्सक सम्मेलनमा सहभागी हुनेछन्।

पछिल्लो समय विराटनगरका विभिन्न अस्पतालमा प्रसूति गराउने क्रममा महिला तथा नवजात शिशुको मृत्यु हुने घटना देखिएको हुनाले सम्मेलन फलदायी हुने आयोजकको बुझाइ छ।

फाल्गुन ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू