एमसीसी सम्झौतालाई भारतले पनि अनुमति दिइसक्याे: कांग्रेस नेता सिंह

नेपालगञ्ज– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमसीसी सम्झौताका लागि कांग्रेसले ग्रीन सिग्नल दिएको बताएका छन्।

नेपालगञ्जमा बुधबार वीपी स्मृति पुस्तकालयको उद्घाटन गर्दै नेता सिंहले नेपाली कांग्रेस एमसीसी सम्झौताको पक्षमा रहेको बताए।

‘एमसीसी सम्झौता आर्थिक विकासका लागि हो। सुरक्षासँग सम्बन्धित छैन’, नेता सिंहले भने, ‘एमसीसी सम्झौतालाई अगाडि बढाउन कांग्रेसले ग्रिन सिग्दल दिइसकेको छ।’

उनले नेपाल र अमेरिकाका बीचमा हुन थालेको एमसीसी सम्झौतालाई भारतले पनि अनुमति दिइसकेको जानकारी दिए। सम्झौताले अन्तरदेशीय विद्युतीय प्रशारण लाइन, तीन सय किलोमिटर बढी बाटो अपग्रेड गर्ने सिंहको भनाइ थियो।

नेता सिंहले जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई पावर पोलिटिक्सभन्दा आदर्श र सिद्धान्तको राजनीति गर्न आग्रह गरे। उनले कांग्रेसलाई विधि, नियम सम्मत, जनताको अधिकारलाई बुझेर अघि बढ्ने पार्टीको रुपमा रुपान्तरण गर्नुपर्ने बताए।

यस्तै नेता गगन थापाले सरकार अधिनायकवादतर्फ अघि बढेको भन्दै सेनादेखि न्यायालयसम्म सरकारसँग डराइरहेको बताए। उनले भने,’पहिला बन्दुक र सेनाको भरमा अधिनायकवाद आउँथ्यो। अहिले चुनाव जितेर अधिनायकवादी सरकार आएको छ। विकास र समृद्धिको कुरा गरेको छ।’

कांग्रेसले वीपी र गणेशमानको मार्गलाई छोड्यो भनेर आलोचना भइरहेको भन्दै थापाले अगाडि थपे, ‘आजको दिनमा वीपी र गणेशमान भएको भएपनि संघीय गणतन्त्रात्मक संविधानलाई आत्मसाथ गर्नुहुन्थ्यो।’

उनले कांग्रेसले सरकार होइन, नागरिक बलियो भएको हेर्न खोजेको बताए।

प्रजातन्त्र दिवसको अवसर पारेर कांग्रेस बाँकेले वीपी स्मृति पुस्तकालय उद्घाटन गरेको छ। त्यसअघि नेताहरुले वीपी चोक र गणेशमान चोकमा पुगेर नेताहरुको शालिकमा माल्यार्पण गरेका थिए।

फाल्गुन ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्