पत्रकार सम्मेलनमा स्वास्थ्य कार्यालय प्रमुख र डुडुवा स्वास्थ्य शाखा प्रमुख ।

नेपालगञ्ज– बाँकेमा हात्तीपाइले रोगको म्याद नाघेको औषधि बाँडेको पाइएको छ। सरकारले सञ्चालन गरेको राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत आम औषधि सेवन कार्यक्रमका क्रममा बाँकेमा म्याद नाघेको औषधि बाँडिएको हो।

डुडुवा गाउँपालिका वडा नं. २ उत्तरबाणीमा बाँडिएको औषधी म्याद नाघेको पाइएको छ। उत्तरबाणीका आज्ञाराम लोनिया, राजकुमार लोनियाको घरमा दिइएको औषधी म्याद नाघेको थियो। आज्ञारामकाे परिवारमा १३ जना सदस्य छन्। तीमध्ये नौ जनाले म्याद नाघेको औषधि खाइसकेका छन्।

आज्ञाराम र दुई छोरी खाइसकेका थिएनन्। एक भाई विदेशमा छन्। आज्ञारामले आफूहरुले खानेबेलामा औषधिकाे पत्ताको खोलमा हेर्दा म्याद नाघेको मिति देखिएपछि नखाएको बताए। ‘हाम्रो घरमा म्याद नाघेको औषधि आइपुग्यो। अर्को घरमा कस्ता छ भनेर राजकुमारको घरमा गएर हेरेँ। त्यहाँ पनि त्यस्तै थियो’, आज्ञारामले भने, ‘हामीलाई म्याद नाघेको औषधि खुवाउने कर्मचारीलाई कारबाही हुन्छ कि हुँदैन?’

सरकारले राष्ट्रिय हात्तीपाइले रोगविरुद्धको अभियानमा डाइ इथाइल काब्रामेजिन औषधी बाँडिरहेको छ। लोनियाको घरमा डब्लु ६६३५८ नम्बर ब्याचको औषधी पुगेको थियो। जसकाे २०१९ काे नाेभेम्बरमै म्याद सकिएको थियो।

जिल्ला स्वास्थ्य कार्यालयले यो ब्याचको औषधि पछिल्लो दुई वर्षदेखि वितरण नगरेको दाबी गरेकाे छ। कार्यालयका प्रमुख धीरजंग शाहले यो वर्ष डीएफ ८७१६ नम्बर ब्याचको औषधि वितरण गरेको जानकारी दिए। यसको म्याद २०२१ काे अक्टाेबर ३१ सम्म रहेको छ। गतवर्ष एएल १९६१ नम्बर ब्याचको औषधि बाँडिएको थियो। जसको अवधि २०२० काे डिसेम्बर ३१ सम्म रहेको थियो।

त्यसो हो भने म्याद गुज्रेको औषधि लोनियाद्वयको घरमा कसरी पुग्यो ? स्वास्थ्य कार्यालय प्रमुख शाहले भने, ‘दुई वर्षअघिको थियो कि भनेर हामीले खोज्यौँ। त्यो पनि भेटिएन। कसरी पुग्यो हामी अचम्ममा परेका छौँ।’

डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख धनबहादुर बुढाले पुरानो औषधि स्टक नै नरहेको दाबी गरे। स्वास्थ्य अधिकारीहरुले त्यो औषधि नै नरहेकाले जनताको घरमा कसरी पुग्यो आश्चार्य मानिरहँदा म्याद गुज्रेको औषधि खाएका लोनियाका घरपरिवार अब के हुने हो भन्ने त्रासमा रहेका छन्।

‘फागुन ४ गते हाम्रो घरमा आएर औषधि दिए। ९ जनाले खायाैँ। म्याद नाघेको औषधि हाे भन्ने थाहा पाएपछि हामी अब के हुने भनेर डरमा छौँ’, आज्ञारामले भने, ‘मेरो श्रीमती जानकी लोनियालाई ज्वरो आएको छ। कतै त्यही औषधीले असर त गरेन?’

दुई वर्षअघिसम्म महिला स्वयंसेविकाले घरघरमा गएर औषधि दिन्थे। घरपरिवारको संख्या गनेर पत्ता खोलेर गोली दिइन्थ्यो। यस्तो गर्दा धेरैले औषधि नखाएको पाइएपछि सरकारले स्वास्थ्यकर्मीलाई नै परिचालन गरेको छ। स्वास्थ्यकर्मीले पनि विश्वासका आधारमा औषधी छोडेर आउने गरेको पाइएको छ।

जिल्लामा यसपटक हात्तीपाइलेकाे औषधि सेवन गर्नेहरु बढ्ने विश्वास गरिएको थियाे। जिल्ला समन्वय समितिले सबै पालिकामा औषधि नखाने व्यक्तिलाई सेवा नदिने चेतावनी दिइसकेको छ। माघ २५ गते बुथमा औषधि खुवाइएको थियो। त्यसपछि घरघरमा गएर औषधि खुवाउने कार्यक्रम रहेको थियो।

 

फाल्गुन ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्