कारवाहीपछिको खेलमा म्यानचेस्टर सिटी विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा साबिक विजेता म्यानचेस्टर सिटीले जित निकालेको छ ।

युरोपियन प्रतिस्पर्धामा दुई वर्षको प्रतिबन्ध लागेपछिको पहिलो लिग खेलमा म्यानचेस्टर सिटीले वेष्ट ह्यामलाई २–० ले पराजित गरेको हो । म्यानचेस्टर सिटीका लागि रोड्री र केविन डी ब्रुयनाले गोल गरेका हुन् ।

रोड्रीले ३० औँ तथा डी ब्रुयनाले ६२ औँ मिनेटमा गोल गरेका हुन् । युरोपियन फुटबलको प्रशासकीय निकायले सिटीमाथि दुई वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको थियो गएको शुक्रबार ।

त्यसमा सिटीले पुनरावेदन गर्ने जनाएको छ । जितपछि दोस्रो स्थानको सिटीको २५ खेलबाट ५१ अंक भएको छ ।

फाल्गुन ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्