नोवेल कोरोनाका कारण डायमण्ड प्रिन्सेजका दुई यात्रुको मृत्यु

जापानमा क्वारेन्टाइनमा राखिएको क्रुज सिपका दुई यात्रुको कोभिड–१९ (नोवेल कोरोना) भाइरसका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा ८० वर्ष उमेर पार गरेका जापानी नागरिक रहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

डायमण्ड प्रिन्सेज क्रुज सिपमा रहेका कम्तिमा ६२१ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । चीन बाहिर एकै ठाउँमा रहेका यति धेरैलाई संक्रमण भएको यो पहिलो घटना हो ।

३७ सयजना रहेको क्रुज सिपका यात्रुहरु बुधबारदेखि १४ दिने क्वारेन्टाइन पूरा गरेर सो पानीजहाजबाट बाहिरिन थालेका छन् । यसरी बाहिरिनेमा कोभिड–१९ को संक्रमण नदेखिएकाहरु हुन् । बिहीबार पनि केही यात्रुहरुलाई क्रुज सिपबाट बाहिर निकालिएको छ ।

मृत्यु भएका दुईजनालाई यसअघि नै संक्रमण देखिएकाले उपचारका लागि पानीजहाजबाट निकालेर अस्पताल लगिएको थियो ।

पानी जहाजमा रहेकाहरुमा संक्रमण बढ्दै गएपछि डायमण्ड प्रिन्सेजको क्वारेन्टाइनका लागि जापानले अपनाएको रणनीतिप्रति आलोचना बढ्दै गएको छ ।

फाल्गुन ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्