क्वारेन्टाइन सेन्टरका कसैलाई संक्रमण नभएकाे रिपोर्ट आएपछि‍‍...

रोजितालाई बल्ल पर्‍यो आनन्दको निद्रा

चीनको हुबेइबाट उद्धार गरी ल्याइएकी रोजिता यादव (बायाँ) हाल भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइन सेन्टरमा छिन् । उनकी बहिनी रोशनी (दायाँ) ले रोजिताका लागि माक्ससहितका सामग्री लगिदिएकी थिइन् ।

काठमाडौँ– रोजिता यादव बुधबार राति आनन्दको निन्द्रा निदाइन्। उनी यसरी ढुक्कले ननिदाएको महिना दिनभन्दा बढी भएको थियो।

बुधबार नाक र घाँटीको भित्री भागको नमूना परीक्षणको रिपोर्ट आयो, स्वास्थ्य मन्त्रालयले खरिपाटी क्वारेन्टाइन सेन्टरमा रहेका कसैलाई पनि कोभिड–१९ अर्थात नोवेल कोरोना भाइरसको संक्रमण नरहेको औपचारिक पुष्टि गर्‍यो।

जनकपुरकी रोजितासहित १७५ जना नेपाली अहिले भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइन सेन्टरमा छन्। गएको आइतबार बिहान चीनको हुबेइ प्रान्तका वुहानसहितका ६ शहरबाट ल्याइएका उनीहरुलाई चीनमा महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमण नहोस् या हुन सक्ने जोखिमका कारण दुई हप्ते क्वारेन्टाइनमा राखिएको हो।

२६ वर्षकी रोजिताको घर जनकपुर हो। उनी चीनको हुबेइ प्रान्तमा एमबीबीएस अध्ययन गर्दै छिन्। अन्तिम सेमेस्टरको अध्ययन गरिरहेकी उनी इन्टर्नसिप पनि त्यहीँ गर्दै गर्दा कोरोनाको महामारी फैलियो । त्यसपछि डरले उनले ढुक्क भएर सुत्न सकिनन् ।

अब भने अवस्था फेरिएको छ । रोजिताले देश सञ्चारसँग भनिन्, ‘बुधबार रिपोर्ट थाहा पाए लगत्तै घरमा बुवा (रोहित कुमार यादव) लाई फोन गरेँ । बुवाले मेरो मात्रै होइन सबैको रिपोर्ट सोध्नु भयो । सबैको नेगेटिभ भएपछि उहाँ थप ढुक्क हुनुभयो । मलाई पनि बल्ल आनन्द भयो । एकजनामा मात्रै पनि संक्रमण भएको भए डर हुने थियो ।’

उनले भनिन्, ‘हुन त हामीलाई केही भएको थिएन । तर पनि यात्रा गरेर आएका थियौँ, मनमा एक प्रकारको डर जस्तो थियो ।’

बुधबार परीक्षणको रिपोर्ट थाहा पाएपछि सबैले ताली बजाएर खुशी मनाएको उनले जानकारी दिइन् ।

१४ दिनको क्वारेन्टाइनपछि फेरि सबैको नमूना परीक्षण हुन्छ । त्यसको रिपोर्ट आएपछि मात्रै खरिपाटीबाट निस्कन दिन्छ । रोजिताले भनिन्, ‘आमालाई १४ दिनपछि पनि परीक्षण हुन्छ भन्ने थाहा थिएन । हिजो थाहा पाउनु भयो । त्यसपछि पनि दुई–तीन दिन लाग्ने भनेर चिन्ता लिँदै हुनुहुन्थ्यो ।’

उनले भनिन्, ‘जति ढिला भए पनि लिन मै आउँछु भन्नुभएको छ आमाले। उहाँसँगै घर जान्छु।’

आफूले चीनबाट आउँदा कोर्षका किताबहरु ल्याएकाले दिन बिताउन गाह्रो नभएको उनले बताएकी छन् । उनले भनिन्, ‘मनोरञ्जन वा दिन कटाउनका लागि विकल्पहरु छन् तर म चाहिँ दिनभर किताब पढेर बिताउने गरेकी छु ।’

उनलाई आमा–बुवाले घरबाट फोन गरिहन्छन् । सम्झाउँ छन् । भिडभाडमा नजान भन्छन् । उनी पनि भिडभाडमा जानुको सट्टा पढेर बस्ने गरेकी छन् ।

गएको आइतबार उनलाई चाहिने सिम तथा माक्स पुर्‍याउन बहिनी रोशनी यादव गएकी थिइन् । रोशनीले दिदीलाई धित मरुन्जेल हेर्न मन लागेको बताएकी थिइन् ।

उनले भनिन् , ‘बहिनीको भावनासहितको समाचार पढ्दा मलाई पनि उनलाई अंगालो हाल्न मन भएको थियो, तर मिलेन। मलाई पनि परबाट देख्न पाए हुन्थ्यो जस्तो लागेको थियो, अब क्वारेन्टाइन अवधि पूरा गरेपछि नै भेट हुन्छ।’

फाल्गुन ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्