अर्थमन्त्री खतिवडासँग दुई अमेरिकी सांसदकाे भेट

काठमाडौँ– अर्थमन्त्री डा. युवराज खतिवडासँग संयुक्त राज्य अमेरिकाका कांग्रेस सदस्यद्वय जर्ज होल्डिङ र अमी बेराले अर्थ मन्त्रालयमा भेटवार्ता गरेका छन्।

उक्त अवसरमा अर्थमन्त्री खतिवडाले नेपाल अमेरिकाबीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा निरन्तर रुपमा सहयोग गर्दै आएकोमा धन्यवाद दिए।

यस्तै अर्थमन्त्रीले नेपालकाे विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी दिए। उनले नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यहाँ उत्पादन भएका वस्तुको बजारका लागि समस्या नहुने बताए।

यस्तै विश्वका धेरै जनसंख्या भएका मुलुकहरु छिमेकी देश भएकोले विश्व बजारको केन्द्रविन्दुमा नेपाल भएको उनले बताए।

अर्थमन्त्रीले गतवर्ष भएको लगानी सम्मेलनमा अमेरिकीका निजी क्षेत्रको उत्साजनक सहभागिता रहेकोमा धन्यवादसमेत दिए।

संविधानले व्यवस्था गरेका मौलिक हकको कार्यान्वयन गर्दै उनले संघीय प्रणालीमा नागरिकले प्राप्त गर्ने अधिकार र सेवालाई गुणस्तरीय, दक्ष, प्रभावकारी र प्रविधि मैत्री बनाउन काम भैरहेको उल्लेख गर्दै यसमा थप सहयोग आवश्यक भएको बताए।

उक्त भेटमा एमसीसी अन्तर्गत प्राप्त हुने अमेरिकी अनुदान सहायता नेपाललाई चाहिने कुरामा कुनै द्विविधा नभएको र सो सहायता सम्झौता संसदबाट अनुमोदन हुने विश्वास अर्थमन्त्रीकाे छ।

अमेरिकी कंग्रेसका सदस्यद्वयले अर्थमन्त्री समक्ष नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालको विकासले अमेरिकाको निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुन गएको धारणा राखे।

फाल्गुन ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्