मापसे जाँच गर्ने मेसिनबाट कोरोना भाइरस सर्छ कि सर्दैन?

काठमाडौँ- चीनको वुहान प्रान्त केन्द्रविन्दु रहेको कोरोना भाइरसको प्रकोप विश्वस्तरमा देखिएको छ। कोरोनाबाट जनजीवनसमेत प्रभावित भएको छ। चीनका सार्वजनिक स्थानमा मानिसहरुको चहलपहल कम देखिन्छ।

नेपालमा समेत मानिसहरु काठमाडौँ आवतजावत गर्ने क्रम घटेको बताइन्छ। काठमाडौँमा सर्वसाधारणहरु ‘मास्क’ लगाएर हिँड्ने क्रम ह्वात्तै बढेको छ। तर मादक पदार्थ सेवन-मापसे गरेको छ कि छैन भनेर पत्ता लगाएर कारबाही गर्ने कामलाई ट्राफिक प्रहरीले निरन्तरता दिएको छ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा दैनिकजसो सय जनाको हाराहारीमा मापसे कारबाही हुने गरेको छ। मापसे गरेको छुट्याउन प्रहरीले ‘ब्रेथ लाइजर’ प्रयोग गर्छ। ब्रेथ लाइजरमा फुक्न लगाएर मापसे गरेको छ कि छैन भनेर थाहा हुन्छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाल मापसे कारबाहीलाई जारी राखिएको र ब्रेथलाइजरकै प्रयोग भइरहेको बताउँछन्। ब्रेथ लाइजर प्रयोग गर्दा कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने उनको दावी छ।

‘स्वास्थ्य विषेशज्ञको सिफारिसपछि हामीले यो मेसिन प्रयोगमा ल्याएका हौँ। स्वास प्रश्वासबाट सर्ने रोग त अरु पनि हुन्छन् नि। यदी मेसिनमा फुक्दा भाइरस सर्ने भए यो मेसिन प्रयोग गर्न नै सिफारिस हुन्न थियो नि’, वरिष्ठ प्रहरी  उपरिक्षक-एसएसपी ढकाल भन्छन्।

सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला ब्रेथ लाइजर फुक्ने क्रममा हाँछ्यु गरेमा, खोकेमा वा र्‍याल झरेमा रोग सर्ने सम्भावना रहेको बताउँछन्। ‘अन्यथा जोखिम हुन्न,’ डा. बास्तोलाले भने।

नेपालमा हालसम्म कोरोना भाइरस भेटिएको छैन। चीनबाट फिर्ता ल्याइएको एक सय ७५ जना नेपालीमा पनि कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भइसकेको छ। उनिहरुलाई भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखेर भाइरस संक्रमण भएनभएको पुष्टि गरिएको थियो।

फुक्ने क्रममा हाँछ्यु गरेमा, खोकेमा वा र्‍याल झरेमा रोग सर्ने सम्भावना रहन्छ। अन्यथा जोखिम हुन्न,’ डा. बास्तोलाले भने।

फाल्गुन ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्