शैक्षिकसत्र सुरु भइसक्याे, अझै पुगेनन् पाठ्यपुस्तक

सिमकाेट– हिमाली जिल्ला हुम्लाका विद्यालयहरुमा माग अनुसार पाठ्यपुस्तक नआउँदा विद्यार्थीहरु मर्कामा परेका छन्।

पाठ्यपुस्तक छपाईको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र र पुस्तक ढुवानीकर्ता तथा बिक्रेताहरुले अघिल्लो वर्षको ‘फ्लेस रिपोर्ट’कै आधारमा पुस्तक पठाउँदा विद्यार्थी संख्याको तुलनामा कम मात्रै पाठ्यपुस्तक हुम्ला आइपुगेको हो।

माथिल्लो हुम्लाका नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकामा रहेका विद्यालयहरुको पाठ्यपुस्तक ढुवानी तथा बिक्रीका लागि जिम्मा पाएको रोकाया पुस्तक पसलकी धनजवा रोकायाले कक्षा २ देखि १० कक्षासम्मका लागि ३ हजार ८ सय ५० सेट पुस्तक माग गरेकोमा जम्मा २ हजार ७ सय सेट पुस्तक मात्र आएको बताइन्।

सो क्षेत्रका विद्यालयहरुका लागि १  हजार १ सय ५० सेट पुस्तक अपुग भएका छन्।

जनक शिक्षा सामाग्री केन्द्रले पुस्तक ढुवानीकर्ता तथा बिक्रेताले माग गरेकोभन्दा पनि केन्द्रमा यसअघि नै पेश भएको ‘फ्ल्यास रिपोर्ट’लाई आधार मानेर मात्र पुस्तक उपलब्ध गराउने गरेको छ।

बाँकी अपुग पुस्तक सम्बन्धित गाउँपालिकाको सिफारिस, शिक्षा विकास तथा समन्वय इकाईको सिफारिस र प्रदेश मन्त्रालयको समन्वयमा मात्र उपलब्ध हुने रोकायाले बताइन्। जिम्मा पाएका पाठ्यपुस्तक नेपालगंजबाट हवाई मार्गबाट सिमकोट पुगेकाे र हाल बिक्री भइरहेकाे राेकायाले जानकारी दिइन्।

यस्तै चंखेली र सर्केगार्ड गाउँपालिकामा पुस्तक बिक्रीको जिम्मा पाएको अर्को पुस्तक ज्ञानु भण्डारकी सञ्चालक दुर्पता शाहीले दुवै गाउँपालिकाका ५६ वटा विद्यालयका लागि ४ हजार २ सय सेट पुस्तक माग गरेपनि जनक शिक्षा र निजी छपाई केन्द्रबाट २ हजार ७ सय २५ सेट पुस्तक मात्र पाएको बताइन्। उनले सबै पुस्तक नेपालगंजमा बुझेर ट्रकबाट ढुवानी गरिएको जानकारी दिइन्।

ती पुस्तक सुर्खेत, कालिकोट, जुम्ला, मुगु हुँदै हुम्ला पुग्नेछन्। निजी क्षेत्रले माग अनुसार पुस्तक दिए पनि जनक शिक्षाले नदिएको उनको गुनासो छ। ती दुबै गाउँपालिकाहरुले पाठ्यपुस्तक खरिदमा बजेट पनि आवश्यकता भन्दा कम विनियोजित गरेको पाइएको छ।

यता जिल्लाको दक्षिणी क्षेत्रका अदानचुली र ताँजाकोट गाउँपालिकाका विद्यालयहरुको पाठ्यपुस्तकको ढुवानी तथा बिक्रीको जिम्मा लिएका लोकेन्द्र भण्डारीले गत वर्षभन्दा कम पुस्तक बुझेको बताए। उनले पनि माग अनुसार पस्तक नपाएको गुनासो गरेका छन्।

यसैबीच हुम्लामा तीन वटा पुस्तक बिक्रेताहरुले नीजि क्षेत्रले छपाईको जिम्मा पाएको कक्षा एकको पुस्तक नछापिएकोले जिल्ला पठाउन नसकिएको बताएका छन्।

बाँकी पुस्तक फागुन १२ गते अगाडि छापिने सम्भावना नरहेको जानकारी प्राप्त भएको छ। कर्णालीका उच्च हिमाली क्षेत्रमा शैक्षिक सत्र फागुन १ गतेबाट सुरु हुने गरेको छ।

फाल्गुन ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्