जुवा खालबाट प्रधानाध्यापकसहित ८ जना प्रहरी नियन्त्रणमा

सांकेतिक तस्बिर।

झापा– प्रहरीले गौरादह नगरपालिकाबाट सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित आठ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

गौरादाह नगरपालिका–९ स्थित दिनेश पोखरेलेको घरमा जुवा खेल्दै गरेको अवस्थामा स्थानीय अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल पोखरेलसहित ज्ञानेन्द्र ढकाल, जयप्रसाद गौतम, रामबहादुर ढुङ्गाना, महेश निरौला, रोहित बस्नेत, नेत्र पोखरेल र गोपाल ढकाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार स्थानीयबासीले दिएको जानकारीको आधारमा उनीहरुलाई बिहीबार राति इलाका प्रहरी कार्यालय झिलझिलेबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो।

जुवा खालबाट प्रहरीले ९१ हजार ३ सय ८० रुपैयाँ र सातवटा मोवाइल फोन बरामद गरेको छ।

पक्राउ गरिएका आठ जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान गरिरहेको र उनीहरुलाई जुवा ऐन अन्तर्गत कारवाही हुने प्रवक्ता श्रेष्ठले बताए।

फाल्गुन ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्