किसानकाे कर्म

जताततै मकै खेती, किसान भन्छन्, ‘बजारकाे समस्या छैन’

झापा– भूगोलले देहात तर खेती गर्ने जाँगर भएका किसान खोज्ने हो भने झापा जिल्लाको पुरानो सदरमुकाम झापा गाउँपालिकामा जाँदा हुन्छ भन्दा धेर हुँदैन।

अहिले उक्त गाउँपालिकाका वडा नं १ देखि ६ सम्मका ८० प्रतिशत किसानले आफ्ना खेत मकै खेतीले हराभरा बनाएका छन्। जता हेर्‍याे त्यतै मकै नै मकै।

६ वटा वडाकाे ८० प्रतिशत खेतीयोग्य जमिनमा अहिले विकासे जातका मकै लगाइएको त्यहाँका किसानहरुले बताएका छन्। त्यहाँका खेतमा आँखाले भ्याइन्जेलसम्म हेर्दा पनि मकैकै हरियाली देखिन्छ।

कसैका खेतमा मकैमा दाना लाग्न सुरु गरेको छ भने कुनै किसानले भर्खर गोड्न योग्य बनाएका छन्। थोरै सिँचाई सुविधाले पनि हुने उक्त मकै खेतीले राम्रो आम्दानी दिने भएकाले त्यहाँका किसान मकै खेतीप्रति आकर्षित भएका हुन्।

झापा गाउँपालिका वार्ड नं ३ का किसान देवकुमार गणेशले १ हेक्टर जमिनमा लगाएको मकैमा अहिले दाना लाग्न सुरु गरेको छ। उनले मकैले राम्रो आम्दानी दिने भएकाले त्यस खेतीतर्फ आकर्षित भएको बताए। उनले भने, ‘मकै खेतीबाट बार्षिक करिब डेढ लाख रुपैयाँ जति आम्दानी गर्छु।’

उत्पादित मकै किन्न व्यापारीहरु घरमै आउने गरेको किसानहरुको भनाइ छ। नेपालमा मकैको उत्पादन कम भएकाले व्यापारमा कुनै समस्या नभएको किसान गणेशले बताए। पाँच बर्षदेखि उनले विकासे मकैको खेती गर्दै आएका छन्।

उक्त क्षेत्रमा एक विघा जमिनमा एकसय ५० मनसम्म मकै उत्पादन हुने गरेको अर्का किसान झापा गाउँपालिका ४ का गणेशप्रसाद गणेशले बताए। उनले भने, ‘मैले ६६०७ जातको मकै लगाएको छु। एक वर्षमा करिब एकलाख रुपैयाँ आम्दानी गर्छु।’

अर्का किसान पदम सुवेदीका अनुसार मकै किन्नका लागि राजधानी काठमाडौंदेखिका व्यापारी उनीहरुकहाँ आउने गरेका छन्। उनले पनि तीन विघा जमिनमा मकै खेती गरेका छन्।

चालू आर्थिक वर्षदेखि झापामा मकै जोन कार्यक्रम सञ्चालनमा ल्याइएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित उक्त जोन झापा गाउँपालिका र कनकाई नगरपालिकामा सञ्चालनमा ल्याइएको हो।

मकै जोन सञ्चालनका लागि चालू वर्ष संघीय सरकारबाट १ करोड २४ लाख ६५ हजार रुपैयाँ बजेट विनियोजन भएको झापा जिल्ला जोन परियोजना कार्यान्वयन इकाइका प्रमुख रवीन्द्र सुवेदीले जानकारी दिए।

झापा गाउँपालिका– ६ र कनकाई नगरपालिका–५ मा गरी ५ सय हेक्टर क्षेत्रफलमा मकै जोन सञ्चालन गरिएको सुवेदीले बताए। झापामा प्रत्येक वर्ष २ लाख ८ हजार मेट्रिक टन मकै उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ।

झापामा बसन्ते मकै ३१ हजार हेक्टर र हिउँदे मकै ८ हजार हेक्टर र बर्खे मकै ९ सय हेक्टरमा उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र झापाको तथ्यांकले देखाउँछ।

 

फाल्गुन ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू