जखेरामा डुंगा सरर …

दाङ– राप्ती गाउँपालिका वडा नम्बर–२ निवासी राधिका न्यौपाने पहिलोपटक डुंगा चढिन्। अरु मानिस डुंगा चढेर रमाएको देखेकी न्यौपाने बिहीबार जखेरा तालमा डुंगा शयर गर्दै मन्दिर परिक्रमा गरिन्।

‘अरु डुंगा चढेको देख्दा रहर लाग्यो। अनि म पनि चढेँ’, उनले भनिन्,‘डुंगामा चढ्दा बेग्लै रमाइलो लाग्यो।’

यति मात्र होइन ताल क्षेत्रमा सेल्फी खिच्ने र रमाउनेको भीड नै लागेको थियो। दाङकाे प्रमुख पर्यटकीय गन्तव्य बनेको जखेरा तालमा पर्यटक आकर्षण गर्न ताल क्षेत्रमा डुंगा राखिएको छ। ताल क्षेत्रमा पुग्ने धेरै जसोको पहिलो रोजाइ नै डुंगा बनेको हो। महाशिवरात्रि पर्वलाई लक्षित गरेर जखेरा धार्मिक तथा सांस्कृतिक पर्यटन महोत्सव आयोजना गरिएको छ। यही महोत्सवमा पुग्ने अधिकांश दर्शकले डुंगामा चढेर मन्दिर परिक्रमा गर्ने गरेका छन्।

२०७५ साउनदेखि ०७६ असारसम्मको एक बर्षको अवधिमा मात्रै करिब नौं हजार पर्यटकले डुंगा चढेको जखेरा शिवालय धार्मिक पर्यटन संरक्षण विकास समितिका महासचिव लोकमणी बञ्जाडेले जानकारी दिए।

‘डुंगा चढ्ने पर्यटक बढ्नुभएको छ। त्यही भएर पनि हामीले नयाँ फाइवरको डुंगा खरिद गरेका छौँ’, उनले भने, ‘एक वर्षमा डुंगाबाट मात्रै चार लाख आम्दानी भएको छ। जुन रकम यहाँको पूर्वाधार विकासमा लगानी गरेका छौँ।’

तालमा अहिले एउटा काठको र एउटा फाइवरको गरी दुई ओटा डुंगा छन्। फाइवरको डुंगा नयाँ हो। अर्को डुंगा पनि खरिदको प्रक्रियामा छ।

‘काठको डुंगामा पानी चुहिने समस्या छ। फाइवरको डुंगा भएपछि सजिलो भएको छ’, जखेरा शिवालय धार्मिक तथा पर्यटन विकास संरक्षण प्रतिष्ठानका सदस्य केशव पोख्रेलले भने, ‘ याे ताललाई अझ विस्तार गरेर फराकिलो र ठूलो बनाउने योजना पनि छ।’

जखेरा ताल साढे सात विघामा फैलिएको छ।

प्रदेश ५ सरकार मातहतमा रहेको डिभिजन वन कार्यालय देउखुरीले गत वर्ष १५ लाख रुपैयाँ ताल क्षेत्रमा खर्च गरेको थियो। यस वर्ष बजेट बढेर २५ लाख प्राप्त भएको छ।

अहिले प्राप्त बजेटबाट डुंगा किनिएको र बाँकी बजेटले सुविधा सम्पन्न शौचालय बनाइने छ।

फाल्गुन ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्