मन्त्रीले राजीनामा दिएकै दिन मुद्रण केन्द्रका प्रमुख पौडेल अमेरिका उडे

काठमाडौँ– सुरक्षण मुद्रण केन्द्रका प्रमुख विकल पौडेल अमेरिका उडेका छन्।

सुरक्षण मुद्रण(सेक्युरिटी प्रेस) खरिद गर्दा कमिसनका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कमिसनका लागि गरेको बार्गेनिङको अडियो टेप सार्वजनिक भएपछि राजीनामा दिएकै दिन पौडेल बिहीबार अमेरिका प्रस्थान गरेका हुन्।

बिहीबार दिउँसो संसदको सार्वजनिक लेखा समितिमा उपस्थित भएर फ्रान्ससँग सेक्युरिटी प्रेस किन्ने सञ्चार मन्त्रालयको निर्णयको बचाउ गरेका पौडेल बेलुका अमेरिका उडेको स्रोतले जानकारी दियो।

मन्त्रिपरिषद्ले पुस ७ गते फ्रान्स वा जमर्नीमध्ये एक देशसँग खरिद गर्न अनुमति दिएपछि केन्द्रको सफिारिससमेतका आधारमा सञ्चार मन्त्रालयले फ्रान्ससँग किन्ने निर्णय गरेको थियो।

निर्णय लगत्तै ठूलो आर्थिक चलखेल भएको तथ्य बाहिरएपछि लेखा समितिले सोधपुछ गर्न बिहीबार बोलाएको थियो। समितिमा सांसदको ‘तारो’ बनेका पौडेल बिदा मिलाएर दश दिनका लागि अमेरिका हिँडेका हुन्।

उनले पटकपटक नेपालको आवश्यकताअनुसार फ्रान्ससँग खरिद गर्न लागेको बताएपछि सांसदहरु ‘नेपालको आवश्यकता भनेको के हो?’ उनीसँग जंगिएका थिए। समितिले तत्कालका लागि खरिद प्रक्रिया रोक्न निर्देशन दिएको छ।

फाल्गुन ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्