काठमाडौँ– आज महाशिवरात्री। पशुपति मन्दिर परिसर खचाखच थियो। भगवान शिवप्रति आस्था राख्ने भक्तजनहरु बिहानैबाट लामबद्ध भएर पशुपतिको दर्शनको लागि आएका थिए।

तर आज पशुपति दर्शन गर्न जानेले फूलले सजिएको पशुपति हेर्न पाएका छन्। विभिन्न फूलले बनेका प्रवेशद्वार, मञ्चहरु अनि सुसज्जित बारहरु छन्। शिवको अस्त्र त्रिशुल, समृद्धिको प्रतिक स्वस्तिक चिन्ह अनि ऊँ पनि फूलमा नै लेखिएको थियो।

पशुपतिमा ७ ओटा फूलका गेट विभिन्न आकारका थिए।

यो सजावटको लागि झण्डै २ करोड रुपैयाँ खर्च भएको पशुपति क्षेत्रविकास कोषले जनाएको छ। महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रलाई श्रृंगार गर्न अष्ट्रेलिया, कोरिया, थाइल्याण्ड, भारतबाट फूल ल्याइएको थियो। शिवप्रति आस्था राख्ने दुई धर्मावलम्बीले यो सजावटको सबै खर्च उठाएका हुन्। भारतबाट आएका ग्लेजटेड्रिङ इन्डिया प्रालिका निर्देशक सञ्जीव छिब्बर र चेतन हन्डाका निर्देशक केके शर्माले फूल खरीद र सजावटको खर्च उठाएका हुन्।

यहाँ अर्किड, जरबरा, कन्वारी, सयपत्री, गुलाब, गोदावरी, लिली, क्यामेसन, एसिया टिक, देल्ही, जेप्सी र अलिको निया आदि नाम गरेका फूलले सजाइएको छ ।

पशुपति क्षेत्रका द्वारहरुमा मयूर चराको आकृति थिए यस्तै कालो अंगूर र फूले शिव लिंग बनाइएको थियो, शिवलिंगको दुवैतर्फ महादेवको बहान साँढे पनि फूलले नै बनाएर सजाइएको थियो।

पशुपति दर्शन सकेर फर्केका दर्शनार्थीहरु फूलले बनेका आकृतिसँग तस्बीर खिचाउँदै व्यस्त देखिन्थे, मस्त देखिन्थे।

तस्बिरहरु :पूर्णिमा बिक/प्रतिभा चन्द