प्रकाश सपूत भन्छन्, ‘हिराे बन्दैछु, मनैदेखि बधाई र शुभकामना दिनुस् है’

तस्बिर: प्रकाश सपूतकाे फेसबुकबाट।

काठमाडौँ– ‘बोल माया’ र ‘गलबन्दी’ जस्ता गीतबाट नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका लोक दोहोरी गायक प्रकाश सपूत अब चलचित्रमा ‘नायक’को रुपमा देखिने भएका छन्।

प्रसिद्ध गायक तथा संगीतकार नारायण रायमाझीको निर्देशनमा बन्न लागेको चलचित्र ‘प्रदेशी–२’मा उनी मुख्य भूमिकामा देखिने भएका हुन्।

सपूतले फेसबुकमा लामो स्टाटस लेख्दै आफ्ना सबै सपना पूरा भएको बताएका छन्।

‘अब मसँग नयाँ सपना छैन। किनकि अधुरो एउटा सपना पनि पूरा भएको छ–चलचित्रमा अभियन गर्ने। हिरो बन्ने’, उनले फेसबुकमा लेखेका छन्, ‘सपना पूरा भएकोमा जति खुसी र उत्साही छु, त्यति नै डर पनि लागिरहेको छ कि मेरो करियरको आगामी यात्रा कता र कस्तो हुन्छ भनेर!’

उनले आफू सांगीतिक र चलचित्रको यात्रामा इमानदारिता, गम्भीरता र मेहनतका साथ काम गर्ने विश्वास रहेको बताएका छन्।

उनले अगाडि लेखेका छन्, ‘तपाईहरुको सल्लाह सुझाव र शुभेच्छा सधैँ रहने अपेक्षासहित आदरणिय नारायण रायमाझी सरको निर्देशनमा बन्ने चलचित्र ‘परदेशी–२’मा मुख्य नायकको रुपमा आवद्ध भएको औपचारक जानकारी गराउँछु।’

प्रकाश सपूत र वर्षा शिवाकाेटी। तस्बिर: प्रकाश सपूतकाे फेसबुकबाट।

उनले शुक्रबार नै चलचित्रको शुभ मुर्हुत गरिएको जानकारीसमेत दिएका छन्। करिब दुई महिना चलचित्रको छायांकन हुने हुँदा योबीचमा देश/विदेशका केही सांगीतिक कार्यक्रममा सहभागि हुन नसक्ने उनको भनाइ छ।

‘पूर्वनिर्धारित विदेशका केही कार्यक्रम बाहेक देश/विदेशका कुनै पनि सांगीतिक कार्यक्रममा सहभागी हुन नसक्ने पनि जानकारी गराउँछु। वैशाख पछाडि म पुनः संगीत कर्ममा फर्किने छु। छोटो तर निकै कष्ठकर यात्रा र संघर्षपछि अन्ततः सपना पूरा भएको छ। मनैदेखि बधाई र शुभकामना दिनुस् है’, उनको फेसबुक स्टाटसमा उल्लेख छ।

यसअघि रायमाझीकै निर्देशनमा बनेको चलचित्र ‘परदेशी’मा प्रशान्त तामाङ मुख्य भूमिकामा थिए।

‘परदेशी–२’मा सपूतको जोडीको रुपमा नायिका वर्षा सिवाकोटी देखिने छिन्। उनले दिपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्र ‘पशुपतिप्रसाद’मा निभाएको भूमिका दर्शकले खुबै रुचाएका थिए।

फाल्गुन ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्