भारतकाे  कञ्चनजंघा फुटबल क्लब खप्तड गोल्डकपकाे क्वाटरफाइनलमा

धनगढी– सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो संस्करण धनगढीमा शुक्रबारबाट सुरु भएको छ। सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा सुदूरपश्चिमको एक मात्रै गोल्डकप धनगढी रंगशालामा सुरु भएको हो।

फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा भारतको कञ्चनजंघा फुटबल क्लब विजयी भएको छ।

धनगढी रंगशालामा भएको खेलमा वागमती युवा क्लब सिराहलाई टाईब्रेकरमा ४–२ ले हराउँदै कञ्चनजंघा क्वाटरफाइनल प्रवेश गरेको हो। निर्धारित समयसम्म दुवै टीमले गोलरहित बराबरी खेलेपछि भएको टाईब्रेकरमा कञ्चनजंघालाई जिताउन गोलरक्षक निगम सिंह नायक बने। उनले वागमतीका विपिन तुमसिङ मगर र अनिल मगरको प्रहारलाई रोकेका हुन्।

यसअघिको दुवै हाफमा कञ्चनजंघाले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको भएपनि गोल गर्न नसकेपछि टाईव्रेकरबाट छिनोफानो गरिएको हो। खेलमा कञ्चनजंघाका निगम सिंह दिनेश सोप म्यान अफ द म्याच भए। उनले नगद १० हजारसहित ट्रफी पाए।

पहिलो खेलमा जित हात पारेको कञ्चनजंघाले अब सेमिफाइनल प्रवेशका लागि आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता अन्तर्गत शनिबार शसस्त्र प्रहरी बल एपीएफ र न्यूरोड टीम एनआरटीबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए।

प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ।

धनगढी रंगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ।

शुक्रबार नै एक औपचारिक कार्यक्रमकाबीच प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन्।

फाल्गुन ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्