मेयर सिवाकोटी र विद्यालयबीच विवाद, धम्क्याउँदा त्रासको वातावरण बनेको विद्यालयको आरोप

आनरमनी लिवर्टी स्कूलका प्रिन्सिपल पुरण बिष्ट पत्रकार सम्मेलन गर्दै।

विर्तामोड– झापाको विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटी र अनारमनी लिबर्टी स्कूलका प्रिन्सिपल पुरण बिष्टबीच विवाद उत्पन्न हुँदा स्कूलमा त्रासको वातावरण उत्पन्न भएको बिष्टले आरोप लगाएका छन्।

शुक्रबार प्रिन्सिपल बिष्टले पत्रकार सम्मेलन आयोजना गरेर मेयर सिवाकोटीले जेसीबी लगाएर स्कूल भत्काइदिन्छु भनेर धम्क्याएको आरोप लगाए।

मेयर सिवाकोटीले भने उक्त संस्थागत स्कूलले बनाएका संरचनाले नगरको उक्त क्षेत्रमा भइरहेको सडक विस्तारको काममा बाधा पुगेकाले ती संरचना हटाउन प्रिन्सिपल बिष्टलाई आग्रह गरेको बताए।

मेयर सिवाकोटीले स्थानीयले विद्यालय सुरक्षाका लागि बनाइएका पर्खालजस्ता संरचनाले बस्ती डुवानमा पर्ने र बाटो चौडा नहुँदा दमकल पनि छिर्न नसक्ने भएकाले ती संरचना भत्काउन आग्रह गरेको बताए।

सिवाकोटीले भने, ‘मैले नगरबासीको कुरा सुन्नुपर्छ। ती संरचना भत्काएर सार्नुपर्दाको अवस्थामा केही सहयोग नगरपालिकाको तर्फबाट गर्न सकिन्छ। तर मेरो प्राथमिकता नगरबासीको सुरक्षा हो।’

नगर प्रमुख सिवाकोटी नेतृत्वको २४/२५ जनाको समूह बिनाअनुमति कक्षा सञ्चालन भइरहेको समयमा स्कूल हाताभित्र पसेको र धम्कीपूर्ण अभिव्यक्ति दिँदा विद्यालयमा त्रासको वातावरण सिर्जना भएको प्रिन्सिपल विष्टले बताए।

विवाद के हो?


वि.सं. २०५९ सालमा विद्यालयको दक्षिणतर्फ बाटो निकाल्ने सर्वपक्षीय छलफलमा १२ फुटको बाटो निकाल्ने सहमति भएको थियो। त्यसबेला एकातिर भीमबहादुर थापाको जग्गा (हाल विद्यालय निर्माण भएको छ) र अर्कातर्फ राधिका सुवेदी लगायतको जग्गा थियो।

त्यो जग्गालाई आलीले छुट्याएको थियो। दुवैतर्फबाट ६/६ फुट छोडेर बाटो निकाल्ने सहमति भए पनि केही स्थानीबासीको घर रहेकाले पछि अर्को घर बनाउने बेलामा बाटो छोड्ने सहमतिमा भएपछि भीमबहादुर थापाले एक्लै आवतजावतको सहजताका लागि १० फुटको बाटो छोडिदिएका थिए। तर, अन्य स्थानीयबासीले हालसम्म बाटोका लागि जग्गा नछाडेको बिष्ट बताउँछन्।

हाल सोही बाटो १८ फुटको बनाउने प्रयास भइरहेको छ। बाटो बढाउन दुवैतर्फबाट ४/४ फुट बढाउने कुरा चलेपछि भीमबहादुर थापा र उनकी छोरी रुबी थापाले आफूहरुले पहिले नै १० फिट बाटो छोडिसकेको र बाटोका लागि थप जग्गा छोड्न नसक्ने जनाएपछि विवाद सिर्जना भएको हो।

फाल्गुन ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्