क्वाइडन बेयल्स

बुलीका कारण ‘मृत्यु’ रोज्न चाहेका ९ वर्षे बालकलाई खुशी बनाउन विश्वव्यापी साथ

अस्ट्रेलियाका ९ वर्षका बालकमाथि स्कूलमा भएको बुली (भयभित गराउने वा सताउने) को प्रभावको भिडियो विश्वव्यापी रुपमा भाइरल भएको छ । ९ वर्षका क्वाइडन बेयल्समाथि उनको शारीरिक अवस्थालाई लिएर बुली भएको हो । बुलीका कारण उनमा गम्भीर आघात परेको छ ।

क्वाइडन रोइरहेको भिडियो उनकी आमा याराका बेयल्सले अनलाइनमा पोस्ट गरेकी हुन् । सो भिडियो क्लिप विश्वव्यापी रुपमा दशौँ लाखपटक हेरिएको छ । क्वाइडनमाथि उनको शारीरिक स्वरुपकै कारण बुली भएको हो । उनी सामान्य भन्दा सानो कदका छन् वा उनको उचाई सामान्य भन्दा कम छ । उनमा ड्वारफिजम भनिने मेडिकल कन्डिसन रहेको छ ।

याराकाले भिडियोमा भनेकी छन्, ‘बुलिङ्गले यस्तो गर्छ।’ भिडियोमा रोइरहेका उनका छोरा क्वाइडनले आफ्नो जीवन अन्त्य गर्न चाहेको बताएका छन् ।


भिडियो भाइरल भएसँगै क्वाइडनको पक्षमा सेलिब्रेटीसहित विश्वव्यापीमा रुपमा मानिसहरु उभिएका छन् । उनलाई डिज्नील्याण्ड पठाउनका लागि सहयोग संकलन गर्न थालिएको अभियानले तोकिएको भन्दा ३० गुणा बढी रकम संकलन गरेको छ।

उनलाई डिज्नील्याण्ड पठाउनका लागि १० हजार अमेरिकी डलर संकलन गर्ने लक्ष्यसहित गोफण्डमी पेजमा अभियान सुरु गरिएको थियो । तर त्यसका लागि लक्ष्यभन्दा ३० गुणा बढी रकम संकलन भएको छ। अहिलेसम्म तीन लाख अमेरिकी डलर भन्दा बढी संकलन भएको हो ।

अमेरिकी कमेडियन ब्राड विलियम्सले क्वाइडनलाई डिज्नील्याण्ड पठाउनका लागि रकम संकलन गर्न सो पेज सुरु गरेका हुन् ।

राष्ट्रिय रग्बी लिगको इन्डोजिनियस अल स्टार टिमले क्वाइडनलाई शनिबार राति हुने माओरी अल स्टारसँगको खेलमा आफ्नो टिम मैदान प्रवेश गर्ने बेला नेतृत्व गर्न निम्ता दिएको छ ।

पत्रकार सम्मेलनमा क्वाइडनकी आमा याराकाले आफ्नो छोराले भोगेको हृदयविदारक अनुभवले बुलिङ्गको प्रभाव कस्तो हुन्छ र यसविरुद्ध लाग्नु पर्छ भन्नेमा सचेतना जगाएको आश गरेको बताएकी छन् ।

उनले भनेकी छन्, ‘हामीले बुलीकै कारण धेरै मानिसहरुलाई गुमाएका छौँ । विभेदका कारण गुमाएका छौँ । रंगभेदका कारण गुमाएका छौँ । बुलिङ्गका धेरै पक्षहरु छन् ।’

उनले अघि भनेकी छन्, ‘हरेक अभिभावकको सबैभन्दा भयानक भय हो, सन्तान गुमाउने डर । मैले त्यो भय हरेक दिन भोग्नु परेको छ ।’

याराकाले आफ्नो छोरा क्वाइडनमाथि भएको बुलीका बारेमा भनिन्, ‘त्यो भन्दा पनि भयानक, असामान्य र शारीरिक रुपमा फरक वा अपांगता भएको अवस्थामा समस्या थप जटिल बन्छ र मानिसहरुले त्यो बुझेका छैनन् । रंगभेद छ र यहाँ अपांगता भएकै कारण विभेद छ ।’

फाल्गुन १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्