भेटेजति सबै पढेर मस्तिष्कलाई डस्टबिन नबनाउनुस्

ज्ञान मित्र।

लेखन एवं संगृहित लेख रचनाको (पुस्तक) व्यापार/ व्यवसाय गरिरहेको वर्ग अहिले एउटा भारतीय समाचारलाई फेसबुकको भित्तामा छर्ने काम गरिरहेको छ।

समाचारअनुसार गुजरात राज्यकी एउटी युवतीले आफ्नो बिहेमा पितासँग आफ्नो तौलबराबरको पुस्तक मागिन्। पिताले ६ महिना लगाएर २२ सय पुस्तक जम्मा गरी छोरीको चाहना पूरा गरे।

एकजना पुस्तक व्यवसायी मित्रले ‘तपाईँ आफ्ना छोराछोरीका लागि महिनामा कतिवटा पुस्तक किन्नु हुन्छ?’  भनी टिप्पणी लेखेर उक्त समाचार फेसबुकमा राखे।

केही समयअघिको कुरा हो, मित्र मनोज दाहालले फेसबुकमा पुस्तकको मुख्यपृष्ठको तस्बिर हाल्दै पठनपाठन ‘प्रमोट’ गर्ने अभियान चलाएका थिए। उनी तस्बिरमा कुनै न कुनै साथीलाइ ‘ट्याग ‘   गरी यस कार्यमा संलग्न हुन प्रोत्साहित पनि गरिरहेका थिए। केही अन्य मित्रहरुले उनको सिको पनि गरे। मनोजले आफ्नो पहिलो ‘पोस्ट’ मै दसवटा पुस्तक ‘प्रमोट’ गर्ने घोषणा गरेका थिए।

म फेसबुकको नियमित प्रयोगकर्ता हुँ भन्नुमा न त मलाई गौरव छ र न त कुनै किसिमको लज्जाबोध। यो मेरा लागि आफ्ना विदेशी मित्रहरुसँग सम्पर्क गर्ने माध्यम हुनुका साथै केही उत्कृष्ट लेखकहरुका अति उत्कृष्ट लेख रचना पढ़ने माध्यम पनि हो। यहाँ रहेका ६ सय ६४ मित्रमध्ये २०-३० जना बाहेक सबै प्रदूषणकर्ता मात्रै हुन्। २०-३० जनाको संगत एवं सत्संगको लोभले मैले ६ सयभन्दा बढी व्यक्तिका मनोविकार दिनहुँ हेर्नुपर्ने बाध्यता छ। तर, यस्ता फेसबुकिया मित्रहरुका अधिकांश सामग्रीमा म कुनै ध्यान दिन्न।

विजयसिंह ठकुराय, आशीष श्रीवास्तव, सुशोभित, स्कन्द शुक्ल, मधुसूदन उपाध्याय, पवन त्रिपाठी, पल्ल्वी कुमारी, प्रदीपकुमार,अर्पित द्विवेदी, त्रिभुवन सिंह, बंशी विचारक,अम्बुज पांडे, यशार्क पांडे, श्रीकृष्ण जुगनू ,सत्या कर्ण, पारिजात सिन्हाजस्ता ८-१० जना अन्य मित्र छन् जसले गर्दा म फेसबुकमा दैनिक हाजिरी लगाउँछु।  यिनीहरुका ‘पोस्ट’ पढ्न दिनमा २-३ घन्टाको समय व्यय गर्छु (दुःख लाग्छ- यस पंक्तिमा कोही पनि नेपाली फेसबुक मित्र छैन)।

सार यो हो, यस बाहेकका सबै ‘पोस्ट’मा मेरा आँखा परे पनि तिनलाई नोटिस गर्दिन।

मनोजले आफ्नो अभियानको शायद पाँचौ दिन हो, पुस्तकको ‘कभर’मा मलाई ‘ट्याग’ गरे। मैले यसमा कुनै  ध्यान दिइन। तर काठमाडौँका मेरा मित्रवर्गमा  ‘एक से एक नम्बरी र प्रच्छन्न चेतयुक्त अराजकको संख्या नै बढ़ी छ। मनोजको त्यस ‘पोस्ट’मा रविन्द्र आनन्दले,  ‘ज्ञानमित्रलाई? त्यो पनि रजनीश’ ?? भनी टिप्पणी लेखिदिए।

मनोजले रविन्द्रलाई प्रत्युत्तरमा ‘रजनीशको च्यालेन्ज होइन, ‘बुक’को च्यालेन्ज हो सर! मान्छे न उकास्नु न!!’ लेखे।

यस पश्चात् मैले दुबै मित्रको नोकझोकमा आफ्नो प्रतिक्रिया लेख्नै पर्ने भयो। मैले “टू प्रमोट एनिथिग मिन्स आई एम डिसकरेजिङ  समबडी फर समथिङ” भनी लामो प्रतिक्रिया लेखेँ। मनोजले त्यस प्रतिक्रियालाई अलिक विस्तार दिएर लेख नै बनाउने आग्रह गरे। मैले स्वीकार गरेँ तर कालान्तरमा बिर्सेँ।

मेरा लागि लेखन -पठन -पाठन सबै मौजको कुरा हो। म न त व्यावसायिक लेखक हुँ र न गम्भीर किसिमको लेखक नै। मलाई थाहा छ, मैले आजसम्म जे जति लेखेँ ती सबै नष्ट गरीदिए पनि मानवताको एउटा रौँ झर्ने जति पनि नोक्सान हुँदैन। विचार गरिहेर्नुस्, मेरा मात्रै किन? संसारको सारा साहित्य नै कुनै ‘बख्तियार खिलजी’ले अग्निसात् गरिदिए पनि मानिसको के नै नोक्सान हुन्छ?

तपाईँ अहिले यो लेख पढ्दै हुनुहुन्छ। पूरा लेख पढिसकेपछि कि त तपाईँ यस लेखमा व्यक्त भएका आशयको विरोध गर्ने मानसिकतामा पुग्नुहुन्छ अथवा समर्थन गर्ने। दुवै बाहियात् हुन्। किनकि यस लेखमा व्यक्त आशयलाई  ‘पेनेट्रेट’ गरी सार निकालेर ग्रहण गर्ने चाख, रूचि, रहर व मनशाय विरलै कसैले बोकेका हुनसक्छन्।

पुस्तक अध्ययन वा  यस्तै लेख रचना पढ्नु ज्ञानप्राप्तिको सबैभन्दा निकृष्ट साधन हुन्। पुस्तक अध्ययनको वास्तविक उद्देश्य व्यक्तिपिच्छै फरक हुन्छ/हुनसक्छ। न बिर्सौँ, कसैका लागि पुस्तक अध्ययन फगत “टाइम पास” पनि हुनसक्छ!  मानौ, उसले पुस्तक पढेन  भने ऊ रहेको स्थानको पृथ्वीले आफ्ना सबै किसिमका गति रोकेर उसलाई वर्तमानको अँध्यारो गुफामा कैद गरिदिन्छ।

यहाँ सुधि पाठकले विस्मरण नगर्नु  होला, ‘देयर इज नो प्रेजेन्ट”! (वर्तमान भन्ने केही पनि हुन्न)। हो, मैले पूरा होशमा लेखेको हुँ, ‘प्रकृतिमा वर्तमान जस्तो केही हुन्न।’वनली पास्ट एन्ड फ्यूचर ह्याभ रियल एक्जिस्टेन्स’ (प्रकृतिमा भूत र भविष्यकाल मात्रै हुन्छन्।), वर्तमान फगत व्यावहारिक शब्दावली हो। तपाईँका लागि समयको सबैभन्दा सानो सूचकांक ( यूनिट) सेकेण्ड हुनसक्छ। तर,  वास्तविकतामा यो यथार्थ होइन। विज्ञानसँग सेकेण्डको  (समय) धेरै लामो, गहन र तात्विक विवेचना छ।

एक सेकेण्डको दसौँ भागमै तपाईँले थाहा नपाइकन तपाईँका आँखा ”ब्लिन्क” भइरहेका हुन्छन्। यसलाइ  १ डेसीसेकेण्ड भनिन्छ। सेकेण्डको हजारौँ भाग ( १०-३ = मिलीसेकेन्ड) मै तपाईँको मस्तिष्कमा रहेका न्यूरोनले उत्तेजित भई कार्य संपादन गरी विश्राममा पुग्ने कार्य गरिसकेका हुन्छन्।  सेकेण्डको एक अर्बौँ भागमा (१०-९ = नैनोसेकेण्ड) १ गीगाहर्ट्ज़को ‘माइक्रोप्रोसेसर’ले एउटा चक्र पूरा गरिसकेको हुन्छ। यसलाई पनि वर्तमान नठान्नुस्। एक नैनोसेकेण्डमा प्रकाशले ३० सेन्टिमिटर यात्रा गरिसकेको हुन्छ।

 

 

दाइजोमा आफ्ना बुवाबाट २२ सय किताब पाएकी गुजरातकी किन्नरी।

१ पिको सेकेण्डमा  (सेकेण्डको एक खर्बौँ भाग १०-१२ ) त अणुभित्र रहेको प्रोटोन बनाउने ‘इलेमेन्ट्री पार्टिकल ‘( Elementary  Particle ) ‘ब्यूटी कवार्क’को आयु हुन्छ।  यो पनि वर्तमान होइन किनकि १ फेमटोसेकेण्ड (सेकेण्ड को १ हज़ार खर्बौँ भाग = १०-१५) अर्को ‘इलेमेन्ट्री पार्टिकल’ ‘टाउअन’ (Tauon) को जीवनकाल हुन्छ।

के तपाईँसँग १ सेकेण्ड को १ हज़ार खर्बौँ भागको अहसास/अनुभव गर्नसक्ने क्षमता छ?

सेकेण्डरूपी समयको विभाजन यही समाप्त हुँदैन। १ सेकेण्डको १ ‘क्वाटिलिंथ’ ( Quintillionth =१०-१८ ) भागलाइ  १ अटोसेकेण्ड भनिन्छ। ‘ लेजर पल्स’लाई कन्ट्रोल गर्ने’बेस्ट टाइमिङ’ १२ अटोसेकेन्डको हुन्छ।

तपाईँले पढेर जानकार, ज्ञानी, विद्वान, सर्वज्ञ,आस्तिक, नास्तिक बन्नुभन्दा परेर वा भोगेर फगत अति क्षुद्र र अति सामान्य खाले वास्तविक व्यक्ति बन्नु धेरै नै  श्रेयस्कर हो।

१ जेप्टोसेकेण्डमा  (१ सेकेण्डको एक सेक्टिलिंथ भाग  ( Sextillionth =१०-२१) रेडियोऐक्टिभ एटमिक न्यूक्लियस’ बाट क्षय भई निस्केका ‘गामारेज’ एक चक्र पूरा गर्छन्।

१ योकटोसेकेण्ड भनेको १ सेकेण्डको एक सेप्टिलिंथ ( Septillionth =१०-२४) भाग हो। तपाईँले नाम सुनेको ‘हिग्स बोसॉन’  “God  पार्टिकल”  ( स्ट्याण्डर्ड मोडेल अफ पार्टिकल फिजिक्सको इलेमेन्ट्री पार्टिकल) को आयु १५६ योकटोसेकेण्ड हुन्छ। हाइड्रोजनका विभिन्न आइसोटोप मध्ये हाइड्रोजन -७ आइसोटोपको ‘लाइफस्पान’ (आयु) २३ योकटो सेकेण्ड हुन्छ। यसैगरी अर्का ‘बोसॉन  पार्टिकल  W  र Z  बोसॉन’को जीवनकाल जम्मा ० दशमलभ ३ योकटोसेकेण्ड हुन्छ। सेकेण्डको विभाजन ‘प्लान्क टाइम’ (Planck  Time  = १०-४४ ) सम्म रहेको छ।

के यो पढ़ेपछि तपाईँ वर्तमानको चर्चा, व्याख्या एवं विश्लेषण केही पनि गर्ने आँट गर्नुहुन्छ?

ध्यानसम्बन्धी श्रेष्ठतम  पुस्तक पढेर के तपाईँ वर्तमानमा स्थिर हुन पुग्न सक्नुहुन्छ? क्षमा गर्नुहोला, म सक्दिन।

हो ध्यान गरेर ( पुस्तक पढेर होइन) यति बुझ्न समर्थ भएको छु – यदि वर्तमानको अस्तित्व छैन भने  “पास्ट ” र ” फ्युचर” पनि छैनन्।  ‘दे बोथ आर एक्जिस्ट वनली इन माई माइन्ड, इट्स नेचर एन्ड फन्डामेन्टल प्रापर्टी अफ माई माइन्ड टू ड्वेल बिटविन फ्यूचर टू पास्ट एन्ड पास्ट टू फ्यूचर।’ (भूत र भविष्य दुबै मनका विषय हुन्, मनको स्वभाव भूतदेखि भविष्य र भविष्यदेखि भूतमा रमण गर्नुरहेको हुन्छ। यो नै मनको मूल स्वभाव हो )।

आफूलाई पुस्तक अध्ययनको विरोधी भन्ने साहस गर्न  नसके पनि आलोचना गर्न पछि पर्दिन। बाहियात अध्ययनले मस्तिष्कलाई ‘डस्टबिन’ नबनाउनुस्।

कमभन्दा कम पढ्नुस- किनकि तपाईँले पढेको सबै संगृहित भएर बस्छ मस्तिष्कमा। र, यस संगृहित कचराले तपाईँलाइई कहिले पनि मौलिक निर्णय लिने अवसर दिँदैन। मस्तिष्कको अर्को विशेष गुण संशय, तुलना र चुनाव गर्नु (हुन त मानिसमा रहेका समस्त गुण- अवगुण मस्तिष्क कै निर्मित हुन्) पनि हो। जीवनमा कुनै विशेष परिस्थिति आउँदा तपाईँलाइ लाग्छ- तपाईँ सोचेर- चिन्तन गरेर निर्णय  लिनुहुन्छ र त्यो तपाईँको आफ्नो मौलिक निर्णय हुन्छ। हजुर त्यो पुस्तक अध्ययनबाट मस्तिष्कमा एकत्र भएको फोहोरको डंगुरबाट मन्थन भई उत्पन्न भएको हुन्छ।

मलाई कुनै भ्रम छैन, यस लेखले तपाईको जीवनमा कुनै सुधार वा प्रगतिको प्रस्फुटन होला। यसले पनि कचरामा अझ कचरा थप्ने काम मात्रै गर्छ।

उपनिषदको वचन छ-  अज्ञानी त अन्धकार मा डुब्छन् नै, ज्ञानी त झनै महाअन्धकारमा डुब्न पुग्छन्।

”पढ्नु उसको मात्रै सार्थक हो जसले प्रत्येक अध्ययनबाट यो संज्ञान संगृहित गर्दै जान्छ- दिस इज एनदर डेब्रिस।” (यो अर्को कूड़ा- कर्कट हो)।

ती महिलाले पाएका २२ सय पुस्तकको उपयोगिता र उपादेयता के? मैले विगत ५ वर्ष देखि खोजेर पनि पढ़न लायक एउटा पनि पुस्तक प्राप्त गर्नसकेको छैन। फाटफुट्ट लेखरचनाबाहेक मैले यस अवधिमा अन्य केही पढेको छैन। पढ्नु- नपढ्नु तपाईँको व्यक्तिगत रूचिको विषय हुनुपर्छ। यसबारे कसैले कसैलाइ सुझाव ,’प्रमोसन’  र उत्साहित बनाउने कार्य गर्नु निन्दनिय कृत्य हो। यस्तो सुझाव मान्नुभन्दा पहिला होश गर्नुहोला- यसले तपाईँको मस्तिष्कमा फोहोर बढाउने काम मात्र होइन, तपाईँलाई अलिकति भए पनि आफूजस्तो बनाउँछ। तपाईँको मौलिक प्रकृतिप्रदत्त व्यक्तित्वमा ‘अतिक्रमण’ गर्छ। तपाईँले पढेर जानकार, ज्ञानी, विद्वान, सर्वज्ञ,आस्तिक, नास्तिक बन्नुभन्दा परेर वा भोगेर फगत अति क्षुद्र र अति सामान्य खाले वास्तविक व्यक्ति बन्नु धेरै नै  श्रेयस्कर हो।

फाल्गुन १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्