फाेटाे फिचर

सुरु भयो ‘प्रदेश ५ एक्स्पो’

दाङ– शनिबारदेखि दाङमा प्रदेश–५ एक्स्पो सुरु भएको छ। तुलसीपुर उपमहानगरपालिकाको बेल्झुण्डीमा एक्स्पोको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरे। प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश ५ सरकारले एक्स्पो आयोजना गरेको हो। एक्स्पोमा १२ जिल्लाका स्थानीय तह तथा जिल्लास्तरबाट आएका झाँकी प्रदर्शन गरिएको छ।एक्स्पोमा पाल्पाको लाखे नाच, प्युठानको डल्ले सराँय, बर्दियाको थारु मयुर नाच, रोल्पाको लहरे पैसरी नाच, रुकुम पुर्वको लोपन्मुख ढोङ्गे नाच, गढवा र राजपुर गाउँपालिकाले अवधि संस्कृति नाचसहितको झाँकी प्रदर्शन गरिएको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको समेत विशेष प्रस्तुति थियो।

विविधतालाई नजिकबाट चिन्ने अवसरः मुख्यमन्त्री


एक्स्पाेकाे उद्घाटन गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश एक्स्पोले प्रदेशभित्र रहेका विविधतालाई नजिकबाट चिन्ने अवसर प्रदान गरेको बताए।प्रदेश सभा स्थापना दिवसको अवसरमा प्रदेश ५ सरकारले आयोजना गरेको प्रदेश एक्स्पोमा मुख्यमन्त्री पोख्रेलले प्रदेश एक्स्पोमार्फत प्रदेश सरकारले दुई वर्षमा गरेका कार्यक्रमको सार्वजनिकरणसमेत रहेको बताए।

उनले जनताको आवश्यकता र विकासको चाहना पूरागर्ने सही माध्यमको रुपमा प्रदेश सरकार स्थापित भएको समेत दावी गरे। ‘आवधिक योजना निर्माणमा, कानुन निर्माणमा, बजेट खर्च गर्ने दृष्टिमा प्रदेश–५ सरकार अरु प्रदेशको तुलनामा अघिरहेको छ’, उनले भने, ‘हामी प्रदेश ५ लाई नमुना प्रदेशको रुपमा अघि बढाउन चाहन्छौँ।’ आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीको अध्यक्षता तथा मुख्यमन्त्री पोख्रेलको प्रमुख आथित्यमा भएको एक्स्पाे तीन दिनसम्म चल्ने छ।

फाल्गुन १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्