धनगढीमा फागुन १४ देखि २० सम्म ‘विश्व नेपाली साहित्य महोत्सव’ हुने

धनगढी– सुदूरपश्चिम प्रदेशको हाल राजधानी रहेको धनगढीमा बुधबार (फागुन १४ गतेबाट २०सम्म) देखि विश्व नेपाली साहित्य महोत्सव हुने भएको छ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा विश्व नेपाली साहित्य महोत्सव हुन लागेको हो। आयोजकले महोत्सवको लोगो तथा कार्यक्रम तालिकासमेत सार्वजनिक गरेको छ।

कार्यक्रम तालिका अनुसार १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट महोत्सवको उद्घाटन हुनेछ। महोत्सवको औपचारिक उद्घाटन अघि धनगढीस्थित त्रिनगर माविको प्राङ्गणबाट बाजागाजा र झाँकीसहितको र्‍यालीले बजार परिक्रमा गरेर कार्यक्रमस्थलमा पुग्ने उल्लेख छ।

महोत्सव उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन हुनेछ। त्यस्तै राष्ट्रकवि माधव घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ साहित्यकार लिलबहादुर क्षेत्री, भारत सिक्किमका पूर्वमुख्यमन्त्री तथा साहित्यकार पवन चामलिङ लगायतका विशिष्ट स्रस्टाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ।

महोत्सवमा साहित्य, कला, भाषा, संस्कृति, राजनीति र विकास लगायतका विषयमा ४३ भन्दा बढी बहस सत्र सञ्चालन हुनेछन्। महोत्सवमा देशभित्र र विश्वका विभिन्न मुलुकका नेपाली भाषी साहित्यकारहरू सहित पाँच सयभन्दा बढीको सहभागिता रहने जनाइएको छ।

महोत्सवमा भारतको आसाम, नागाल्याण्ड, मिजोरम, सिक्किम, उत्तराखण्ड, पश्चिम बंगालसहितका विभिन्न राज्यका साथै बर्मा, अष्ट्रेलिया, अमेरिकासहितका मुलुकबाट नेपालीभाषी साहित्यकारहरू सहभागी हुनेछन्।

‘नेपालमा पहिलो पटक विश्वभरीका नेपालीभाषी साहित्यकारहरूको जमघट हुदैछ’, कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष रामलाल जोशीले भने, ‘यो तपाईं हामी सबैको कार्यक्रम हो, त्यसैले यसलाई सफल बनाउन सबैको योगदानको आवश्यकता छ।’

उनले विश्वभरी नेपाल तथा सुदूरपश्चिम प्रदेश, नेपाली भाषा, संस्कृतिलाई चिनाउने निकै महत्वपूर्ण अवसरका रुपमा महोत्सव रहेको चर्चा गरे। उनले भने, ‘नेपाली भाषा तथा संस्कृतिको माउथलो सुदूरपश्चिम प्रदेशमा विश्वभरीका नेपालीभाषी साहित्यकारहरूको सहभागितामा साहित्यिक महोत्सव हुनु सबैका लागि गौरवको विषय हो।’

यससँगै धनगढीमा सुदूरपश्चिम खाना महोत्सव पनि हुने भएको छ। होटल व्यवसायी संघ कैलालीको आयोजनामा यही फागुन १४ गतेदेखि २० गतेसम्म खाना महोत्सव हुन लागेको हो।

सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गर्न लागेको विश्व नेपाली साहित्य महोत्सवसँग सहकार्य गरेर धनगढीस्थित खुलामञ्चमा खाना महोत्सव हुने आयोजक होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले जानकारी दिए।

‘सुदूरपश्चिम प्रदेशमै पहिलो पटक खाना महोत्सव आयोजनाको तयारीमा छौँ,’ अध्यक्ष बमले भने, ‘महोत्सवमा २५ स्टल हुनेछन् भने सबै स्टलमा स्थानीय परिकार मात्रै उपलव्ध हुने छ।’

सुदूरपश्चिम प्रदेशका परम्परागत खानाहरुको प्रवर्द्धनका लागि महोत्सव आयोजना गर्न थालिएको उनले बताए। महोत्सवमा एक हजार लिटरको भाँडामा फाणो पकाउने तयारीसमेत आयोजकको छ।

फाल्गुन ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्