प्रदेश ५ एक्स्पो: थारुको ढकियादेखि सडक-पुलसम्म

दाङ–कुसुम चौधरीले ढकिया बुन्‍न जानेकी छिन्। थारु समुदायमा ढकिया बुन्ने र त्यसको प्रयोग एउटा परम्परा जस्तै छ । चौधरीले मेहनत गरेर बुनेको ढकिया अहिले प्रदेश ५ एक्स्पोमा राखिएको छ।

गाउँ घरमा हस्तकलाको माध्यमबाट तयार पारिएको ढकिया एक्स्पोमा राखिएपछी ढकियाको चर्चा सुरु भएको हो ।‘गाउँ घरमा बनाउने आफै प्रयोग गर्ने चलन छ। कसैले अर्डर गरेपछि बुनेर दिन्छौं’चौधरीले भनिन्–‘धेरैले मन पराउनु भएको छ। हामीलाई पनि हौसला थपिएको छ ।’

स्टलमा ढकिया बिक्रीको लागि पनि राखिएको छ । एउटा ढकाललाई तीन सय रुपैयाँ देखी पाँच हजार रुपैयाँ सम्म पर्छ। यति मात्रै होइन हात बाट बुनेको पटकी, गुन्द्री समेत स्टलमा राखिएको छ ।‘भुइँमा ओच्छ्याउने काप्रेटको चलन छ। तर, काप्रेट भन्दा पनि गुन्द्री र पटकी राम्रो मानिन्छ’कुसुमले भनिन्–‘यसको प्रयोग गर्ने चलन बिस्तारै हराउँदै जान थालेको छ । तर, हामीले यसको प्रयोग बढाउन सहकारी मार्फत प्रवद्र्धन गरिरहेका छौं।’

राप्ती गाउँपालिका वडा नम्बर २ पिपरीमा रहेको लक्ष्मी महिला विकास वचत तथा ऋण सहकारी संस्था मार्फत प्रदेश एक्स्पोमा थारु समुदायका उद्यमी महिलाहरुले उत्पादन गरेका वस्तु तथा सामाग्रीको प्रदर्शनी गरिएको छ।

पटकीको मूल्य एक हजार तोकिएको छ । रङ्गिबिरङ्गी पटकीले सबैको ध्याना तान्ने गर्छ । प्रदेश एक्स्पोमा घरेलु उत्पादनका सामाग्री सहित कृषि प्रविधि संग जोडिएका नविनतम उपकरणहरु प्रदर्शनीमा छन्। हस्तकला मार्फत बनाइएका सामाग्रीहरुमा आकर्षण छ।

कृषि ज्ञान केन्द्र मार्फत त्यस्ता उपकरण प्रदर्शनी राखिएका हुन। यति मात्र होइन कम पानीमा पनि धेरै उब्जनी लिन सकिने थोपा सिंचाइ प्रणाली, गड्यौला बाट कम्पोष्ट मल बनाउने बिधि समेत किसानलाई सिकाउन प्रदर्शनी गरिएको छ।

‘अहिले चलिरहेका मेला महोत्सव भन्दा प्रदेश एक्स्पो भिन्न र राम्रो लाग्यो। किसानलाई चाहिने जानकारी सबै यहाँबाट पाउन सकियो’धुपनारायण चौधरीले भने–‘हरेक बर्ष भिन्नभिन्न बिषयमा यस्ता प्रदर्शनी राखिदा झनै राम्रो हुन्थ्यो।’

एक्स्पोमा ठूला पक्की पुल, झोलुङ्गे पुलका स्ट्याचु राखिएका छन्। सडक तथा पुल निर्माणका नविनतम प्रविधि बारे जानकारी दिन एक्स्पोमा स्टलनै राखिएको छ । पूर्वाधार विकास डिभिजन कार्यालयले स्टल मार्फात जानकारी दिने गरेको प्रमुख बासुदेव भण्डारीले जानकारी दिए ।

प्रदेश ५ स्थापना दिवसको अवसरमा प्रदेश सरकारले एक्स्पो मार्फत एकै थलोमा जनजीवनलाई फाइदा पुग्ने शन्देस देखि नयाँ प्रविधिको बारेमा जानकारी दिनु आफैमा सकारात्मक रहेको प्रदेश सभा सदस्य रेवतीरमण शर्माले बताए।

प्रदेशका १२ जिल्लाका उत्पादन, संस्कृति, सम्पदाहरु स्टल सम्म आइपुगेकाले धेरै नयाँ कुरा सर्वसाधारणले थाहा पाउन सकेको उल्लेख गरे ।‘पुराना लोप हुन थालेका ढकिया, पटकीदेखि नयाँ कृषि यन्त्रको बारेमा थाह पाउन सकिएको छ’उनले भने-‘प्रदेश एक्स्पो मार्फत नागरिक तहमा प्रदेश सरकार पुग्न सकेको अनुभव गरेको छु।’

फाल्गुन ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्