‘राजनीतिमा युवा आकर्षित नहुनु चिन्ताको विषय’

झापा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा प्रतिनिधि सभा सदस्य महेश बस्नेतले अहिलेका युवा राजनीतिमा आकर्षित नहुनु चिन्ताको विषय भएको बताएका छन्।

उनले अहिले राजनीतिमा सक्रिय रहेका केही पिढी सकिने वितिक्कै देश चलाउने वा राजनीति गर्ने मान्छे पाउन गाह्रो हुने बताए।

जिल्ला समन्वय समिति झापाले आयोजना गरेको जिल्ला युवा सम्मेलनको समापनमा बोल्दै पूर्वमन्त्री समेत रहेका नेता बस्नेतले यो खाडललाई कसरी परिपूर्ति गर्न सकिन्छ भन्नेबारे राजनीति पार्टीका नेतृत्वले सोच्ने बेला आएको बताए।

उनले भने, ‘देशको राजनीतिक क्षेत्र हाँक्ने मान्छे पाइएन भने समस्या हुन्छ। त्यसैले हाम्रो नेतृत्व त्यस विषयमा ध्यान जान जरुरी छ।’

राष्ट्रिय सभा सदस्य बद्री पाण्डेले देशमा युगान्तकारी परिवर्तन भए पनि युवाको चाहना र आवश्यकता परिपूर्तिको मुद्दाले सार्थकता नपाएको बताए।

उनले देश हेरक तहका नीति निर्माणमा युवाको हस्तक्षेपकारी भूमिका हुनुपर्ने आवश्यक्ता औंल्याए।

पाण्डेले भने, ‘युवा क्षेत्रलाई समेट्न उनीहरु उपस्थिति अनिवार्य हुन्छ। अनि मात्र उनीहरुको हस्तक्षेपकारी भूमिका स्थापित हुन्छ।’

पार्टीहरुका विधान पनि युवामैत्री नभएको बताए। स्ववियु निर्वाचन नहुनु, दलका महाधिवेशन समयमा नहुनु तथा दलका समितिहरुमा युवाको सहभागितालाई ध्यान नदिनु युवा शक्तिलाई राजनीतिको मूलधारमा ल्याउन कठिन भएको उनको भनाइ थियो।

शनिवार र आइतबार आजोजित उक्त सम्मेलन ८ बुँदे घोषणा पत्र जारी गर्दै समापन भएको छ।

के-के छन् घोषणा पत्रका बुँदा ?


१.   राष्ट्रिय युवा नीति २०७२ र युथ भिजन २०२५ ले परिकल्पना गरे बमोजिम युवा शक्तिलाई गुणस्तरीय र व्यवसायिक शिक्षा, युवा रोजगारी, उद्यमशीलता र सीप विकास, युवा स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन, सहभागिता र नेतृत्व विकास तथा युवाहरुको लागि खेलकूद र मनोरञ्जनको माध्यमबाट समृद्धिको मार्गमा अघि बढ्ने गरिको नीति, कार्यक्रम र आवश्यक बजेटको व्यवस्था गर्दै युवामैत्री स्थानीय तह निर्माण गर्न झापा जिल्लाका सबै स्थानीय तहहरुको गम्भीर ध्यानाकर्षण गर्दछौं ।

२.   झापा जिल्लासहित आज मुलुककै गम्भिर समस्याको रुपमा रहेको लागु औषध प्रयोग तथा ओसार—पसारमा बढ्दै गएको युवा संलग्नताले पर्न गएको सामाजिक, आर्थिक एवं मनोवैज्ञानिक असरलाई कम गर्न भईरहेका सबैखाले कार्यक्रम, अभियानहरुलाई अझ बढी प्रभावकारी रुपमा अघि बढाउन सरोकारवालाहरुको ध्यानकर्षण गराउँदै यससँग सम्बन्धित कानून, नीति, नियमको प्रभावकारी कार्यान्वयनका लागि जोडदार माग गर्दछौं ।

३.   दिगो विकास लक्ष्यलाई हासिल गर्नका लागि झापा जिल्लाका युवाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने कुराप्रति ऐक्यवद्धता जनाउँदै सोको कार्यान्वयनका लागी स्थानीय सरकारलाई नीति निर्माण तथा कार्यान्वयनमा आवश्यक सहयोग र समन्वय गर्दै यसको प्रचार—प्रसार गरी परिणाममुखी बनाउँदै झापा जिल्लालाई संन् २०३० अगावै दिगो विकाश लक्ष्य हासिल गरेको जिल्ला बनाउन जिल्लास्थित सम्पूर्ण सरोकारावालाहरुको ध्यानाकर्षण गर्दछौं ।

४.   विपद् जोखिम व्यस्थापन (बाढी, आगलागी, हात्ति आतंक, सडक दुर्घटना लगायत) का हिसाबले झापा जिल्ला उच्च जोखिममा रहेको हुँदा विपद् जोखिम  समयभन्दा अगाडी, भएको समयमा र विपद् पश्चात् युवाहरुलाइ विपद् जोखिमको अल्पिकरण, प्रतिकार्य, पुनर्लाभ र पुनर्स्थापना कार्यको लागि युवा अग्रसरताको लागि नीति, कार्यक्रम र बजेटको उच्चतम व्यवस्थापन गर्नको लागि सम्पूर्ण सरोकारवालाहरुको ध्यानकर्षण गर्दछौं ।

५.   झापा जिल्लालाई पुर्ण युवा रोजगार जिल्ला बनाउन युवा उद्यमशिलता र उत्पादन कार्यलाई केन्द्रबिन्दुमा राखि बैंक तथा वित्तीय संस्थाहरुसँग समन्वय गरी सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने वातावरण सिर्जना गरेर युवालाई उद्यमशीलता र रोजगारीको क्षेत्रमा समावेश गराउँदै कृषि उत्पादनको क्षेत्रमा झापा जिल्लालाई शुन्य आयातयुक्त जिल्ला घोषणा गर्न सामूहिक अभियान संचालन गर्न ऐक्यबद्धता जनाउँदछौं ।

६.   नेपालको कुल जनसंख्याको करीब ४०.३५ प्रतिशत जनसंख्या रहेको युवा शक्तिलाई जिल्लास्थित सबै निकाय, तहहरुमा युवाको पहिचान, पहुँच र प्रतिनिधित्व स्थापित गर्दै योजना निर्माण, कार्यान्वयन तथा प्रतिफलको बाँडफाँडमा न्यायोचित र समानुपातिक हिस्सेदारीको सुनिश्चितताको लागि जोड गर्दछौं ।

७.   समाजमा विद्यमान सबैखाले (वर्गीय, लैंगिक, जातीय, भाषिक, धार्मिक, भौगोलिक लगायत) विभेद, असमानता एवं अन्धविश्वास, कुरिती र कु—संस्कारको समूल अन्त्य गर्दै सामाजिक—सांस्कृतिक रुपान्तरणका लागि व्यापक युवा सहभागितामा प्रभावकारी जिल्लास्तरीय अभियान संचालन गर्न हामी सामूहिक प्रतिबद्धता व्यक्त गर्दछौं ।

८.   झापा जिल्लाको हकमा युवाको क्षेत्रमा सामूहिक एवं साझा ढंगले काम गर्नको लागि “अन्तर पार्टी युवा संजाल” को निर्माण गर्नको लागि आवश्यक प्रक्रिया अगाडि बढाउनको लागि हामी सामुहिक प्रतिवद्धता व्यक्त गर्दछौं ।

फाल्गुन ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्