करणी मुद्दामा अदालतबाट सजाय पाएका व्यक्ति १४ वर्षपछि पक्राउ

मोरङ-सामूहिक बलात्कारको आरोपमा १४ वर्षदेखि फरार एक व्यक्ति सुनसरीको धरान उपमहानगरपालिका ६ बाट पक्राउ परेका छन्।

मोरङस्थित इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक दिलिप गिरी नेतृत्वको टोलीले पथरी–शनिश्चरे नगरपालिका १० का ३६ वर्षीय सूर्य विश्वकर्मालाई धरानबाट पक्राउ गरेको हो।

पक्राउ परेका विश्वकर्मालाई प्रहरीले आइतबार जिल्ला अदालत मोरङमा बुझाएको छ। विश्वकर्मालाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको अदालतमा सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए।

त्यसैगरि प्रहरी नायब उपरीक्षक गिरीका अनुसार २०६२ साल फागुनमा विश्वकर्मासहित रामबहादुर बुढाथोकी र दीपक नेपालीले दुईदिनसम्म २० वर्षीया एक युवतीलाई बन्धक बनाएर बलात्कार गरेका थिए।

भुटानी शरणार्थी शिविरस्थित दिदीको घरमा रहेकी युवतीलाई दीपकको घरमा बन्धक बनाएर बलात्कार गरिएको प्रहरीको भनाइ छ। घटनालगत्तै तीनै जना फरार रहँदै आएका थिए।

फरार मध्येका विश्वकर्मा धरानमा घर बनाएर बसोबास गर्दै आएको प्रहरीको भनाइ छ। अर्कोतर्फ, बुढाथोकी र नेपाली भने फरार नै रहेको र उनीहरुको पनि खोजी भइरहेको प्रहरी नायब उपरिक्षक गिरीले जानकारी दिए।

सो घटनापछि प्रहरीले जवर्जस्ती करणी मुद्दा दर्ता गरे पनि तीनै जना फरार थिए। फरार रहेका विश्वकर्मालाई तत्कालिन पुनरावेदन अदालत विराटनगरले २०७१ साल वैशाख १० गते १० वर्षको कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। तर त्यसअघि २०६९ साल पुस २४ गते तीनै जनालाई जिल्ला अदालत मोरङले भने सफाई दिएको थियो।

जिल्लाको आदेश उल्टाउँदै पुनरावेदनले तीनै जनाविरुद्ध कैद र जरिवानाको फैसला गरे पनि उनीहरु पक्राउ भने परेका थिएनन्।

फाल्गुन ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्