इटालीमा कोभिड–१९ को संक्रमणः कार्निभल चाँडै रद्द, दुई शहरमा क्वारेन्टाइन

कोभिड–१९ अर्थात नोवेल कोरोना भाइरसको संक्रमण नियन्त्रणको प्रयासमा रहेको इटालीले भेनिस कार्निभल रद्द गरेको छ । युरोपमा सबैभन्दा खराब कोभिड–१९ महामारीले प्रभावित भएको देश हो इटाली ।

वेनेतो क्षेत्रका अधिकारीले भेनिस कार्निभल निर्धारित समय भन्दा दुई दिनअघि नै अन्त्य गरिएको बताएका छन् । कार्निभल आइतबार नै अन्त्य भएको हो । इटालीमा अहिलेसम्ममा १५२ जनामा कोभिड–१९ को संक्रमण भएको छ । यस्तै इटालीमा तीनजनाको मृत्यु भइरसकेको छ ।

मिलान र भेनिससँग नजिक रहेका उत्तरी क्षेत्रका दुई भेगमा इटालीले क्वारेन्टाइन लागु गरेको छ । वेनेतो र लोम्बार्डीका विभिन्न शहरमा ५० हजार मानिसको बसोबास छ । सरकारी अधिकारीले सो क्षेत्रमा आवतजावत गर्न रोक लगाएका छन् ।

यस्तै स्थानीय बासिन्दालाई घर भित्रै बस्न भनिएको छ । चीनमा महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण अहिलेसम्म २४ सय ४२ जनाको मृत्यु भएको छ । यस्तै ७६ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् ।

फाल्गुन १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्