अमेरिकी राष्ट्रपति ट्रम्पको स्वागतको तयारीमा भारत

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि भारत भ्रमण सुरु गर्दै छन् । उनी राष्ट्रपति बनेपछि पहिलो पटक भारत भ्रमण गर्न लागेका हुन् । दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार ट्रम्प गुजरातको अहमदाबाद जाने छन् ।

अहमदाबादबाट ट्रम्प उत्तर प्रदेशको आगरा गएर ताजमहलको अवलोकन गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सोमबार अबेर राति अमेरिकी राष्ट्रपति ट्रम्प राजधानी दिल्ली पुग्ने छन् । राष्ट्रपति ट्रम्पसँगै प्रथम महिला मिलानिया ट्रम्प, छोरी इभान्का ट्रम्प तथा ज्वाईँ जेराड कुशनर पनि भ्रमण टोलीमा छन् ।

अहमदाबादमा आफ्नो स्वागतका लागि झण्डै ६० लाखदेखि एक करोड मानिस उपस्थित हुने अपेक्षा ट्रम्पले गरेका छन् । तर अहमदाबादको कुल जनसंख्या ७० लाख मात्रै छ । भारतीय विदेश मन्त्रालयले ट्रम्पको स्वागतमा हजारौँ मानिस उपस्थित हुने जनाएको छ । ट्रम्प अहमदाबादको सरदार वल्लभभाई पटेल रंगशालाबाट निस्किएर साबरमती आश्रम जाने छन् ।

त्यसपछि मोटेरा रंगशाला जाने कार्यक्रम रहेको जनाइएको छ । विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशाला मोटेरामा ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने छन् । त्यहाँ झण्डै एक लाख मानिस उपस्थित हुने जनाइएको छ ।

ट्रम्प दिउँसो १२ बजेतिर विमान मार्फत अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने कार्यक्रम छ ।

पछिल्लो समय भारत र अमेरिकाबिचको व्यापार सम्बन्ध बिग्रिएको छ । यस्तो समयमा हुन लागेको भ्रमणलाई सम्बन्ध सुधारको अवसरका रुपमा लिइएका छ ।

फाल्गुन १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्