बिराटनगरका सडकको धुलो टिप्न ब्रुमर गाडी प्रयोग

बिराटनगरका सडककिनारमा जमेको धुलो सफा गर्ने ब्रुमर गाडी बिराटनगर महानगरपालिकाले प्रयोगमा ल्याएको छ।

२०७५ असोजमा ५५ लाख रुपैयाँ तिरेर भित्राएको ब्रुमर झण्डै डेढवर्षपछि महानगरले सोमबार विराटनगरको पुष्पलाल चौक सडकखण्डको सफाइ गराउदै प्रयोग सुरु गरेको हो।

सोमबार विहान महानगर प्रमुख भीम पराजुलीले सडक निर्माण भइरहेको अवस्थामा ब्रुमरको काम नहुने र अब सडकहरुको निर्माण कार्य सम्पन्न भइरहदाँ यसलाई प्रयोगमा ल्याउन आवश्यकता भएको बताए।

उनले भने, ‘ब्रुमरको सही रुपमा अब काम हुनेछ। निर्माण भएका कालोपत्रे सडकमा धुलो सफा गर्ने काममा यसलाई अधिकतम प्रयोग गरिनेछ।’

सरसफाई महानगरको प्राथमिकतामा रहेको बताएका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले विगत एकमहिना देखि महानगरका विभिन्न स्थानमा सरसफाई गरिरहेको जानकारी दिए। त्यसैगरि, उनले निर्माण भइसकेका सडकबाट धुलो हटाउन ब्रुमर परिचालन गर्ने बताए।

म्याप ईन्टर टेसनट प्रा.लि काठमाडौंबाट इटेण्डरबाट गत वर्ष असोजमा खरिद गरिएसँगै दक्ष प्राविधिकको अभावमा ब्रुमर महानगरमा थन्किएको थियो। महानगरका मेयर पराजुलीका प्रेस सल्लाहकार कौशल निरौलाका अनुसार ब्रुमर खरिद गरिएको कम्पनीबाट जाकिर हुसैनलाई ल्याएर यहाँका प्राविधिकलाई तालिम दिइएको छ। सोही अनुसार दक्ष जनशक्ति तयार भएपछि ब्रुमर सञ्चालनमा ल्याइएको हो।
हालसम्म महानगरभित्र करिब १ सय ५० किलोमिटर कालोपत्रे सडक तयार भएको महानगरले जनाएको छ।

फाल्गुन १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्