सरकारलाई अलोकप्रिय बनाउन ‘रियाक्सनल इलिमेन्ट’ लागिपरे- प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा भ्रम छर्न र सरकारलाई अलोकप्रिय बनाउन थुप्रै प्रतिक्रियावादीहरु लागि परेको बताएका छन्।

गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘संसदमा हामी छलफलका लागि विधेयक प्रस्तुत गर्छौं छलफल गर्न संसदमा त छन नी विरोधीहरु, विपक्षिहरु त्यहाँ छलफल गरे हुन्छ नि’, उनले भने।

संसदमा पनि पर्याप्त कुरा नै नभएजस्तो गरी जनतामा भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउन ‘रियाक्सनल इलिमेन्टहरु’ थुप्रै रहेको बताए।

उनले भने, ‘जनतामा भ्रम छर्न, सरकारलाई आलोकप्रिय बनाउन र यस्ता कुराहरुलाई साथ दिने, सहयोग गर्ने रियाक्सनल इलिमेन्टेस थुप्रै छन्, जसले यस्ता कुराहरुलाई मद्दत गरेका छन, बोकेका छन, उठाएका छन्, र सहयोग गरेका छन, कराएका छन, हिंडेका छन्।’

देशलाई आवश्यक पर्ने र जनताले पत्याउने सहि नीतिहरु नभई विगतमा बलिदानपूर्ण संघर्ष गरेका थियौँ भनेर मात्रै जनसमर्थन प्राप्त नहुने प्रधानमन्त्री ओलीले बताए। उनले सरकारले गरेका कामहरु देखेर विरोधीहरु आत्तिएको समेत बताए।

सरकारले दुरगामी महत्वका साथ असाधारण कामहरु गर्न थालेको उल्लेख गर्दै ओलीले तत्कालिन अवस्थामा पनि समाजलाई आवश्यक रहेको नीति, कार्यक्रम तथा योजनाहरु अगाडी बढाइएको बताए।

उनले पार्टी र देशको निर्माण भबितव्यले नबन्ने समेत बताए। निर्वाचनमा भवितव्यले जनताको अभिमत प्राप्त नगरेको ओलीको भनाइ छ।

फाल्गुन १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्