वडाध्यक्ष पौडेललाई अनसन तोड्न राजनीतिक दलको आग्रह

चितवन-चितवनका राजनीतिक दलहरुले अनसनरत वडाध्यक्ष कृष्णप्रसाद पौडेललाई अनसन तोड्न आग्रह गरेक छन्।

जिल्लाका नौ राजनीतिक दलहरुले पौडेलका मागहरुप्रति एकबद्धता जनाउँदै अनसन तोड्न माग गरेका हुन्।

माडी क्षेत्रका विभिन्न समस्याहरु समाधानको माग गर्दै माडी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष पौडेल फागुन ७ गते देखि अनसनमा छन्।

नेकपा, नेपाली कांग्रेस, राप्रपा संयूक्त, समाजबादी पार्टी, राष्ट्रिय जनता पार्टी, साझा पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय नागरिक पार्टीले पौडेलका सम्पूर्ण मागहरुप्रति एकबद्धता जनाउँदै अविलम्व पुरा गर्न माग गरेका छन्।

उनको जीवन रक्षाका लागि सरकारसँग माग पनि उनीहरुले गरेका छन्। जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइको रोहवरमा दलहरुको बैठक बसेको थियो।

पौडेलको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको चिकित्सकहरुले बताएका छन्। उनी भरतपुर अस्पतालको सघन उपचार कक्षको ९ नम्बर शैयामा उपचाररत छन्।

पौडेलको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अनसन तोड्न आग्रह गरिएको नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले बताए।

फाल्गुन १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्