प्रधानमन्त्रीज्यू, अति सर्वत्र वर्जयेत

देखिने गरी प्रधानमन्त्रीका राजनीतिक ग्रहदशा उनी अनुकूल छैनन्। आफ्ना व्यवहारले उनी सबैलाई चिढ्याइरहेका छन्। मैमत्त तरिकाले। अहिले जन्मदिन मनाउने क्रममा जन्मथलो आठ‍राईमा नेपालको नक्सा अंकित ‘केक’ काटे। जन्मदिन मनाउनु उनको निजी अधिकार र रोजाइ हो। त्यो राष्ट्रिय पर्व होइन। तर, यो समग्र प्रकरण र आचरण प्रर्दशनमा उनले एउटा महत्वपूर्ण कुरा बिर्सेः यो नेपाल हो।

ओली आठराईमा जन्मिएका हुन्। केकमा नेपालको नक्सा राखी चक्कुले चिर्नुलाई त्यहाँ कसरी लिइएला, उनले त्यसको अनुभूति अहिले गरिरहेका छन्।

पश्चिमा मुलुकहरुभन्दा विपरीत र फरक छन् यहाँका केही मान्यता। केही वर्षअघि अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन आफ्ना पूर्ववर्ती जर्ज बुसलाई भेट्न जाँदा बुसको खुट्टामा ‘क्लिन्टन’ छापको मोजा थियो। त्यसलाई सम्मानकै रुपमा हेरिन्छ त्यहाँ। झण्डै आठवर्षअघि क्यालिफोर्नियामा ‘आइकन शुज’ले महात्मा बुद्धको फोटो आफ्ना जुत्तामा प्रयोग गर्‍यो। अमेरिका या त्यहाँका बासिन्दाहरुका लागि यसले कुनै अर्थ राख्दैनथ्यो। अमेरिकाका लागि यो एउटा नाफा कमाउने शैली थियो। तर विश्वमा बुद्धमार्गी र हिन्दूहरुले त्यसप्रति विरोध जनाएपछि कम्पनीले त्यो ब्राण्डको जुत्ता नै बजारमा ल्याएन।

ओली आठराईमा जन्मिएका हुन्। केकमा नेपालको नक्सा राखी चक्कुले चिर्नुलाई त्यहाँ कसरी लिइएला, उनले त्यसको अनुभूति अहिले गरिरहेका छन्। काठमाडौँस्थित सरकारी निवासमा एकदिन पहिले जन्मदिन मनाउनु अनुचित थिएन। त्यसको भोलिपल्ट जन्मथलोमा जाने कार्यक्रमलाई पनि अनुचित मान्न मिल्ने थिएन। तर चार्टर्ड हेलिकोप्टरमा आठराई यात्रा, त्योभन्दा
तीन महिनाअघिदेखि हेलिप्याड निर्माणको तयारी, धनाढ्यहरुको लावालस्करको उपस्थितिले ‘धरतीपुत्र’मा सत्ताले ल्याएको अहम् प्रस्ट देखिन सक्थ्यो।

विभिन्न धनाढ्यहरुले आआफ्ना कम्पनीका लोगो झल्किने गरी केक अर्पण गरे प्रधानमन्त्रीलाई। त्यो उनीहरुको अधिकार थियो। उनको निकट व्यापारिक घरानाले विशेष वायुसेवाको व्यवस्था गरी ‘युरोपियन बेकरी’मा तयार गरिदिएको २२ किलोको केक आठराई पुर्‍यायो सुरक्षित र त्यत्तिकै विशेष प्याकेजमा। जन्मदिन मनाउने क्रममा पनि उनले त्यो नक्सा क्षतविक्षत पार्न र त्यसका टुक्राहरु खान र खुवाउन असहज मान्लान् कि भन्ने सोच सायद त्यहाँ उपस्थित कसैलाई त थियो होला। तर, उनीहरु निराश भए।

ओलीले काटे त्यसलाई। बाँडे। ताली खाए।

सत्ताको उन्माद अर्कै हुन्छ।

अति रूपेण वै सीता चातिगर्वेण रावणः।
अतिदानाद् बलिर्बद्धो ह्यति सर्वत्र वर्जयेत्।।

अति सर्वत्र वर्जयेत्। उनले जानेको बुझेको नीतिवचन हो यो। तर अतिको उन्मादको सिकार आफैँ बने। त्यसको परिणाम राम्रो हुने छैन कमसेकम ओलीका लागि। फेरि पनि जन्मदिनको शुभकामना प्रधानमन्त्रीजी।

फाल्गुन १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्