चार ग्राम ब्राउनसुगरसहित एकजना पक्राउ

सांकेतिक तस्बिर।

नेपालगञ्ज – भारतको रुपैडिहाबाट ब्राउनसुगर बोकेर आएका दाङका किरणसिंह ठकुरी नाकामा पक्राउ परेका छन् ।

चार ग्राम ब्राउनसुगर र १५ वटा नाइट्रोभेट ट्याब्लेट बोकेर आइरहेका ठकुरीलाई जमुनाहा नाकामा रहेको लागु औषध नियन्त्रण ब्यूरोको टोलीले नियन्त्रणमा लिएको हो ।

शरीरका विभिन्न ठाउँमा ब्राउनसुगर र ट्याब्लेट राखेर ठकुरी नेपाल भित्रिएका थिए । जमुनाहा नाकामा चौबिसै घण्टा खटिने ब्यूरोले खानतलासीका क्रममा ब्राउनसुगर र ट्याब्लेट फेला पारेको हो ।

ठकुरीले भारतबाट १५ हजार रुपैयाँमा ब्राउनसुगर र ट्याब्लेट किनेर ल्याएका थिए । ठकुरी ब्राउनसुगर लिन नै नेपालगञ्ज हुँदै रुपैडिहा पुगेको प्रहरीले बताएको छ । चार ग्राम ब्राउन सुगरलाई धेरै नै मानिने गरिन्छ । प्रहरीले ठकुरी कारोबारी भएको जनाएको छ । रुपैडिहाबाट ब्राउनसुगर लगेर दाङमा बेचबिखन गर्ने प्रहरीको भनाई छ ।

नेपालगञ्ज नाकामा पर्ने भारतीय बजार रुपैडिहामा सहजै ब्राउनसुगर पाउदा बाँकेसहित छिमेकी जिल्लाहरु दाङ, सुर्खेत, दैलेखसम्मका युवाहरु ब्राउनसुगर किन्न रुपैडिहा पुग्ने गरेको पाइन्छ ।

फाल्गुन १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्