स्वागतका नाममा सडकमा पासो, दुर्घटनाको जोखिम बढ्दै

झापा– चाहे जुनसुकै कामका लागि होस्, स्वागत वा विरोध, मानिसहरुको पहिलो खुसी वा आक्रोश पोख्ने ठाउँ सडक नै हुने गरेको छ। प्रदर्शन तथा विभिन्न विरोधका कार्यक्रमका लागि सडक नै पहिलो रोजाइ पर्छ। तर, अहिले सोही सडकमा मानिसहरुलाई स्वागत गर्ने नाममा गेट निर्माण गरेर धराप थाप्ने काम बढेर गएको छ।

मंगलबार अपरान्ह झापाको विर्तामोडमा अदुवा पुल नजिक साँघुरो पूर्वपश्चिम राजमार्गमा बनाइएको गेट हावाले लडाइदियो। तर भाग्यवश कोही मानिस त्यहाँ आवतजावत गरेका थिएनन् गेट भत्केको बेला। त्यसैले मानिस तथा सडकमा गुडिरहेका सवारी साधन बाल–बाल बँचे।

पूर्वपश्चिम राजमार्गमा अहिले पूर्वीद्वार काँकरभिट्टादेखि झापाको सीमा मावा खोलासम्म स्वागतद्वार बनाइएकाले सवारी साधनको आवागमनमा अत्यन्तै कठिनाइ उत्पन्न भएको ट्राफिक प्रहरीका अधिकारीहरुले बताएका छन्।

जसले स्वागतद्वार वा गेट बनाउँछन्, कसैले पनि न त सडक डिभिजन कार्यालयमा जानकारी गराउँछन्, न स्थानीय तहलाई न ट्राफिक प्रहरीलाई। जसले जहाँ मन लाग्यो त्यहीँ कच्चा गेट बनाइदिने गरेकाले सडकमा धराप थापेको जस्तो देखिने गरेको छ।

झापाको चारआलीदेखि पश्चिमपट्टि बनेको गेट नलडोस् भनेर छेउबाट बाँसको टेका लगाइएको छ। अलि ठूलो हावा आउने वितिक्कै उक्त गेट सडकमै लड्ने सम्भावना रहेको छ।

बजार क्षेत्रमा विभिन्न खेलकुद, मेला, महोत्सव तथा पुराणका गेट निमार्ण गर्ने कार्यलाई बन्द गराउन सडक तथा बजार अस्तव्यस्त बन्दै गएका छन्।

झापाको विर्तामोडमा सडक तथा ढल निर्माणको काम भइरहँदा त्यहीँ सडकमै अनावश्यक स्वागतद्वार बनेकाले कुनबेला सवारी साधन सोही स्वागतद्वारमा ठोक्किन् पुग्छन् भन्ने ठेगान छैन।

विकास निमार्णको कामले अस्त व्यस्त रहेको सडकबीचमा बनाइने यस्ता गेटहरु अनुमति बिना नै खुल्लम खुल्ला निमार्ण भइरहँदासमेत सरोकारवाला निकाय मौन देखिएको छ।

सडकको बीचमा प्रसारप्रचार तथा स्वागतको लागि बनाइने गेट निमार्ण गर्न नपाइने विभिन्न स्थानीय तहले व्यवस्था गरे पनि कार्यान्वयन हुन सकेको छैन।

तर अब चाहीँ त्यस्ता स्वागतद्वार बनाउने कामलाई रोक्नका लागि नगरपालिकाले कदम चाल्ने विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईंले बताइन्।

सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामकुमार यादवका अनुसार कसैले पनि स्वागतद्वार बनाउनका लागि अनुमति लिएका छैनन्।

उनले भने, ‘सडकमा गेट बनाउने विषयमा हामीसँग अनुमति लिएका छैनन्। म तुरुन्त स्थानीय तहलाई पत्र लेखेर हटाउन अनुरोध गर्छु।’

नगरपालिकामा हुने यस्ता गतिविधिको बारेमा बनेको निर्णयलाई समेत कार्यान्वयनमा ल्याउन नसकेको बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव प्रसान्त भण्डारीको आरोप छ।

बीच सडकमा विना अनुमति निमार्ण गरिने यस्ता गेटहरुले दुर्घटनाको जोखिमसमेत बढाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगुले स्वागतद्वार हटाएर सवारी दुर्घटनाको जोखिम घटाउने विषयमा आफ्नो ध्यान गएको बताए।

फाल्गुन १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्