कृषकलाई लक्षित गरेर बाँकेबाट थालियो ब्याजमा अनुदान

नेपालगञ्‍ज-५ नम्बर प्रदेश सरकारले सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रम शुरु गरेको छ। कृषकलाई लक्षित गरेर यो कार्यक्रमको शुरुवात गरिएको हो।

कृषि ज्ञान केन्द्र, बाँकेको संयोजनमा मंगलबार नेपालगञ्जमा त्यसको शुभराम्भ गरियो। ५ नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले त्यसको शुभराम्भ गर्दै एक करोडसम्मको कृषि व्यवसाय गर्नेलाई ब्याजमा अनुदान दिइने जानकारी दिइन्।

‘कृषकलाई प्रोत्साहन गर्नका लागि प्रदेश सरकारले यो कार्यक्रम ल्याएको छ, मन्त्री पौडेलले भनिन्, साना किसानलाई प्राथमिकतामा राखेर काम थालिएको छ।’

मन्त्री पौडेलले जति धेरै उत्पादन, उति नै धेरै अनुदान पाउने बताइन्। उनले किसानलाई प्रत्यक्ष फाइदा हुने काम प्रदेश सरकारले गरिरहेको जानकारी दिदै माटो नछोएर, पसिना नबगाई फाइदा लिइरहेका विचौलियालाई निरुत्साहित गर्ने बताइन्।

कृषि ज्ञान केन्द्र, नेपालगञ्जका प्रमुख सागर ढकालका अनुसार, सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रम सामान्यतः दुई वर्षको हुने र केहीको हकमा ५ वर्षसम्म हुनेछ।

यो कार्यक्रममा एकदेखि दश लाखसम्म ऋण लिनेलाई पहिलो दश प्रतिशत, ३० लाखसम्मलाई ८ प्रतिशत र एक करोडसम्ममा ६ प्रतिशत ब्याजमा अनुदान दिइने छ।

कार्यक्रम शुभराम्भ गर्दा स्थानीय तहका जनप्रतिनिधिसँग पनि छलफल गरिएको छ। बर्दिया बाँसगढीका मेयर शालिकराम अधिकारीले उत्पादनमा आधारित अनुदान दिने कार्यक्रम अति नै राम्रो भएको र त्यसलाई स्थानीय तहसँग जोडेर अभि बढ्नु पर्ने बताए।

किसान लालबहादुर खत्री, खड्गबहादुर खड्का, सुरेन्द्र खड्का, डोरप्रसाद अर्याललगायतले अहिलेसम्मका कार्यक्रमहरु किसानमैत्री भन्दा विचौलियामैत्री रहेकाले यो कार्यक्रम वास्तविक किसानमैत्री होस् भन्ने शुभकामना दिए।

नेपाल राष्ट्र बैंक, नेपालगञ्जका उपनिर्देशक किर्तिविक्रम दाहाल, कृषि विकास बैंकका प्रदेश प्रमुख अमरराज शर्मा घिमिरेले बैंकको सेवा र गतिविधिका बारेमा प्रकाश पारेका थिए।

फाल्गुन १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्