मन्त्रीकै सल्लाहकारले किशोरीलाई बन्धक बनाएर लगातार ‘यौन हिंसा’

फाइल फोटो

काठमाडौँ – शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका सल्लाहकार एक किशोरीलाई बन्धक बनाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन्।

रामवीर मानन्धरका आर्थिक सल्लाहकार ५२ वर्षे अमृतकुमार घलेलाई फागुन १ गते महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँको टोखाबाट पक्राउ गरेको हो।

चितवन स्थायी घर भएका उनी टोखामा फ्ल्याट लिएर बस्दै आएका थिए। उनले सिन्धुली घर भएकी किशोरीलाई गएको माघ २७, २८ र २९ गते फ्ल्याटमा बन्धक बनाएर बलात्कार गरेको अभियोग छ।

किशोरीलाई फागुन १ गते उद्धार गरी सोही दिन घलेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

घलेलाई म्याद थप गरी अनुसन्धान भइरहेको र किशोरीलाई मनोवैज्ञानिक परामर्श गरी परिवारको जिम्मा लगाइएको डिएसपी बोगटीले जानकारी दिए।

घलेविरुद्ध अपहरण तथा शरीर बन्धक एवम् जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइएको उनले जानकारी दिए। घलेले आफू राज्यमन्त्री मान्नधरको सल्लाहकार रहेको भन्दै उम्किने प्रयास गरेका थिए।

फाल्गुन १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्