दाहाल र वामदेव सचिवालय बैठकमै चर्किए- कार्यदलको सूचना कसले चुहायो? छानबिन हुनुपर्छ

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री पनि बन्न पाउने गरी संविधान संशोधनको गृहकार्यमा नेकपाले कार्यदल बनाएको निर्णय सञ्चार माध्यममा बाहिरिनु विडम्बनापूर्ण भएको उल्लेख गर्दै यसबारे छानबिन हुनुपर्ने बताएका छन्।

नेकपा सचिवालय बैठकको सुरुमै बुधबार अध्यक्ष दाहालले कार्यदलको सूचना चुहाएकामा रोष प्रकट गरेका थिए। उनका साथै उपाध्यक्ष बामदेव गौतमले पनि रोष प्रकट गरेका थिए।

वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा लैजाने र राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधनको गृहकार्य गर्ने नेकपाले कार्यदल बनाएपछि यसको पार्टीभित्र र बाहिर चर्को विरोध भएको थियो।

सचिवालय बैठकको सुरुवातमै दाहाल र गौतमले एकै स्वरले भने, ‘कार्यदल गोप्य राख्ने कुरा भएको थियो। त्यसबारे सबैभन्दा पहिले सूचना बाहिरियो, जुन विडम्बना हो। यसबारे छानबिन हुनुपर्छ। कसले यो सूचना बाहिर दियो, प्रमाणित गर्न सकिन्छ। यसले प्रतिक्रिया राम्रो दिएन।’

बुधबार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले विवादको घेरामा परेपछि माधवकुमार नेपाल संयोजक, सुवास नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहेको कार्यदल भंग गर्ने निर्णय गरेको छ। शनिबारको नेकपा सचिवालय बैठकले कार्यदल गठन बनाउने निर्णय गरेको हो।

फाल्गुन १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्