राष्ट्रियसभामा खतिवडालाई नै लैजाने ओलीको तयारी, पार्टी निर्णय नमान्‍ने चेतावनी

डा. युवराज खतिवडा। फाइल तस्बिर।

काठमाडौँ- वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने नेकपा सचिवालयको निर्णय केही घन्टामै धरापमा परेको छ।

बुधबार बिहानको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यमा गौतमलाई लैजाने निर्णय गरेको केही घन्टामै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेर आफूबिरुद्ध षड्यन्त्र भएको भन्दै अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रिय सदस्यमा निरन्तरता दिन राष्ट्रपतिलाई सिफारिस गरिदिन्छु भन्दै धम्की दिएका छन्।

जवाफमा नेता नेपालले आवेशमा नआउनू भन्दै ओलीलाई सम्झाउने प्रयत्न गरे पनि ओली भने खतिवडालाई राष्ट्रिय सभा सदस्यमा पुन: दोहोर्‍याउने निर्णयमा पुगिसकेको स्रोतले बताएको छ।

नेता नेपालले त्यसपछि ‘त्यसो नगर्नुस्’ भनेपछि ओलीले नेपाललाई बालुवाटारमा जसरी पनि चार बजे आउन र त्यहीँ सल्लाह गर्ने भन्दै फोन राखेका थिए।

स्रोतका अनुसार नेता नेपाल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

 

फाल्गुन १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्