राष्ट्रपति बिद्यादेवी भण्डारीद्धारा उद्घाटन

धनगढीमा विश्व नेपाली साहित्य महोत्सव शुरु

धनगढी-सुदूरपश्चिम प्रदेशको हाल राजधानी रहेको धनगढीमा बुधबारबाट विश्व नेपाली साहित्य महोत्सव शुरु भएको छ।

महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्यले समाजका विकृति एवं बिसङ्गीतालाई औल्याउदै सदाचार र नैतिकतलाई प्रवद्र्धन गर्न जोड दिईन। उनले असल साहित्य सृजनामा साहित्यकारहरु क्रियासिल रहनु पर्ने बताइन्।

राष्ट्रपति भण्डारीले महोत्सवले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुरयाउने बिश्वास ब्यक्त गरिन्। राष्ट्रपति भण्डारीले नेपाली कला, संगीत, भाषा, साहित्यले देश भित्र बिभिन्न सम्प्रदायलाई एकतामा बाध्य सहयोग पुरयाउने तथा अन्र्तराष्ट्रिय रुपमा राष्ट्र–राष्ट्र बिच र मानव जातीलाई जोड्न साघुका रुपमा काम गर्ने बताईन्।

‘हामी समृद्ध नेपाल, सुखी नेपाली: निर्माणको महाअभियानमा जुटीरहेका छौ’ राष्ट्रपति भण्डारीले भनिन्–‘सुदूरपश्चिम प्रदेश प्राकृतिक सम्पदाले सुन्दर र समृद्ध भएकाले बिकासको साझा राष्ट्रिय आकांक्षा साकार तुल्याउन यस प्रदेशले महत्पूर्ण योगदान पुर्‍याउने छ।’

‘सुदूरपश्चिम प्रदेश कला, संस्कृति, भाषा साहित्यका लागिउर्वर भूमी हो’राष्ट्रपति भण्डारीले भनिन्–‘शैक्षिक संस्था, प्राज्ञिक केन्द्र, बिश्वविद्यालयले साहित्य र भाषाको प्रर्वद्धन गर्न मदत पुर्‍याउने भएकाले यस क्षेत्रका सम्पूर्ण शैक्षिक केन्द्रको सुदृढीकरण गर्न आवश्यक छ।’

उद्घाटन समारोहमा बोल्दै पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले संस्कृति वलियो भए राष्ट्र बलियो हुने बताए। उनले भने–‘संस्कृतिमा आक्रमण भैषकेको छैन, तर अहिले देखि नै नयाँ पुस्तालाई संस्कृतिको जानकारी गराउन आवश्यक छ।’

कार्यक्रममा उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सासंद नारदमुनी राना, पूर्वमन्त्री एनपी साउद, धनगढी उपमहानगरपालिका प्रमुख नृप वड, शताब्दी पुरुष सत्यमोहन जोशीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

सो अवसरमा प्रदेशवासीका तर्फबाट राष्ट्रपति भण्डारीको अभिनन्दन गरिएको छ । यसैबिच राष्ट्रपति भण्डारीले सम्मानित ब्यक्तित्व शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मानपत्र, दोसल्ला र नगद १ लाख ११ हजार प्रदान गरे।

यसैगरी बिभिन्न क्षेत्रमा योगदान पुर्‍याउने पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, बरिष्ट साहित्यकार डा.मोदनाथ प्रश्रित, साहित्यकार आरडीप्रसाद चटौत, बद्रीताथ भण्डारी, तुलसीराम जोशी, मदन कुवरलाई सम्मानित गरिएको छ । उद्घाटन समारोहमा यस क्षेत्रको कला संस्कृति, भेषभषा झल्कने झाकी प्रस्तुत गरिएको थियो।

महोत्सव फागुन २० गतेसम्म चल्ने छ। महोत्सवमा देश र विदेशका गरी ५ सय जनाको सहभागिता रहेको बिश्व नेपाली साहित्य महोत्सव मुूल आयोजक समारोह समितिका संयोजक यज्ञराज उपाध्यायले जानकारी दिए।

यस अघि महोत्सवको अवसरमा बुधबार दिउँसो धनगढीमा बृहत सांस्कृतिक झाँकी निकालिएको थियो। धनगढीको त्रिनगर माविबाट निस्किएको झाँकी बजार परिक्रमा गर्दै धनगढीको पुरानो एयरपोर्ट स्थित खुला मञ्चसम्म प्रदर्शन गरिएको हो। झाँकीमा सुदूरपश्चिम प्रदेशका पख्र्यात हुड्के, भुवा, पञ्चेवाजा, सचिया, मुंग्रहुवा, लगायतका नाच सहभागी गराइएको थियो।

महोत्सवमा भाग लिन विश्वभरबाट नेपाली भाषी साहित्यकारहरु धनगढी आएका छन्।

सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीका अनुसार दार्जिलिङ, सिलुगुढी, आसाम, मेघालय, सिक्किम लगायतका ठाउँबाट साहित्यकारहरु आएका छन्।

फाल्गुन १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्