नक्कली लाइसेन्स बनाउने कार्यमा संलग्न भएकाे आराेपमा एक महिला पक्राउ

सांकेतिक तस्बिर

जनकपुरधाम– प्रहरीले नक्कली सवारी चालक अनुमती पत्र (लाइसेन्स) बनाउने कार्यमा संलग्न भएकाे आराेपमा एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ की रुवी मिश्र रहेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

मिश्रलाई मंगलबार पक्राउ गरी जिल्ला अदालत धनुषाबाट ४ दिनको म्याद लिएर थप अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए।

महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नंं १२ का हरि नारायण भन्ने कृष्ण देव कुशवाहाकाे सवारी अनुमती पत्र चेक गर्दा नक्कली फेला परेपछि सोधपुछ गर्दा मिश्रलाई ५ हजार रुपैयाँ दिएर नक्कली सवारी अनुमती पत्र बनाएको प्रहरीलाई बयान दिएका थिए।

मिश्रले कुशवाहाकै गाउँका थप चार जनाकाे  लाइसेन्स बनाउन ६० हजार रुपैयाँ लिएको अनुसन्धानबाट खुलेपछि प्रहरीले मिश्रलाई पक्राउ गरेको जनाएको छ। मिश्र पक्राउ परेपछि थप उजुरी आउने क्रम जारी रहेको धनुषा प्रहरीले जनाएको छ।

फाल्गुन १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्