प्रधानमन्त्री केपी शर्मा ओली। फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ‌ओलीले नेकपा सचिवालय बैठकको निर्णयविपरीत वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन नगरी युवराज खतिवडालाई नै गर्ने चेतावनी दिएपछि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग बालुवाटारमा बुधबार साँझ छलफल भएको छ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले आफूलाई पार्टीमा एक्ल्याएको भन्दै आक्रोश व्यक्त गरेका थिए।

उनले नेपाललाई भने, ‘मलाई एक्ल्याइयो, म खतिवडा (युवराज) लाई सिफारिस गर्छु। मलाई सकाउने खेल भयो। बाहिर राम्रो सन्देश गएन।’

ओलीको आक्रोशमा नेपाललले विधिमा चल्न आग्रह गरेका थिए। उनले भने, ‘विधिमा चल्नु पर्छ। तपाईंलाई चित्त बुझेको थिएन भने बिहान किन नभनेको? तपाईं एक्लैले निर्णय गरेर हुन्न। बैठक बोलाउनू। आफ्नो एजेन्डामा छलफल गराउनू। म अहिले केही भन्दिन।’

नेकपा सचिवालय बैठकले बुधबार बिहान वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने निर्णय गरेको थियो।

फाल्गुन १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्